एनआरएनए चुनाव: विधान कुल्चँदै उम्मेदवार

काठमाडौँ / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा कुनै पनि प्यानल वा टिम बनाएर चुनाव लड्न पाइँदैन।
एनआरएनएको कानुन लेखिएको कुरालाई चुनावमा अन्य उम्मेदवार मात्र होइन कार्यकारी पदमा रहेकाहरूले खिल्ली उडाउने गरेका छन्।
वर्तमान कार्यसमितिका तीन अध्यक्ष मध्ये कुल आचार्य बाहेक प्रायशः सबै पदाधिकारी चुनावी मैदानमा छन्। अर्का अध्यक्ष डा. बद्री केसी र रवीना थापाले कुर्सीमा बस्ने धोको पुरा नभएको भन्दै पुन उम्मेदवार बनेका छन्।
प्रतिनिधि छनौटको विषयमा विवाद हुँदा अन्ततः अघिल्लो पटक एनआरएनए आइसीसीको चुनाव नै हुन सकेन। त्यस पछि उम्मेदवारी घोषणा गरेका मात्र होइन त्यसै घरमा नै बसेकाहरूले पनि पद पाए।
डा. बद्रीले टिके अध्यक्षको दाग हटाउन आफू पुन अध्यक्ष बनेको बताउँदै आएका छन्। यस्तै रवीनाले पनि अधुरा काम पुरा गर्न आफू पूर्ण कार्यकाल अध्यक्ष हुनु पर्ने जिकिर गर्दै आएकी छिन्।
वर्तमान कमिटीका उपाध्यक्ष महेश श्रेष्ठ र आरके शर्माले पनि अध्यक्षमा दावेदारी गरेका छन्। वर्तमान उपमहासचिव विनय अधिकारी अध्यक्षमा उम्मेदवारी घोषणा गरे पछि गुमनाम जस्तै छन्।
६ उपाध्यक्षका लागि दर्जन बढी उम्मेदवार छन्। महासचिवमा गौरी जोशीले पुन उम्मेदवारी घोषणा गरे पछि उनलाई टक्कर दिन अमेरिकाका बुद्धि सागर सुवेदी मैदानमा आएका छन्।
चुनाव जित्छु भनेर ढुक्क हुने अवस्थामा अहिले सम्म कोही देखिएका छैन। चुनाव जित्नलाई जे पनि गर्न तयार उम्मेदवाहरु एक पछि अर्को गर्दै संस्थाको विधान कुल्चन थालेका हुन्।
अध्यक्षकी उम्मेदवार रवीना अहिले सम्म एक्लै चुनावी मैदानमा छिन्। अध्यक्षका अर्का उम्मेदवार आरकेको उपाध्यक्षमा टिम बनेको भनेर प्रचार गरिएको छ।
विधान कुल्चने काम सबै भन्दा बढी कार्यकारी अध्यक्ष डा.बद्री र उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी महेश श्रेष्ठको तर्फबाट भएको देखिन्छ।
‘टिम महेश’ को नाममा पोस्टरहरू सार्वजनिक भएको मात्र होइन चुनावी सभामा कार्यक्रम सञ्चालक एनआरएनए क्यानडाका पूर्व अध्यक्ष तथा आइसीसीमा सचिवका उम्मेदवार दीपक गौतमले पटक पटक टिम महेश भन्दै सम्बोधन गरेका थिए। जुन कार्यक्रममा अध्यक्षका उम्मेदवार महेश, उपाध्यक्षका उम्मेदवार तथा वर्तमान महासचिव डा. केशव पौडेल लगायत उपस्थित थिए। कार्यक्रमका वक्ताहरूले टिम महेशलाई जिताउन भन्दै भोट मागे।
त्यस अगाडि डा. बद्रीको चुनावी सभामा सोझै टिम बद्री नभनिए पनि विचार मिल्ने समूहलाई जिलाउन भन्दै घुमाउरो रूपमा प्यानलको वकालत गरिएको थियो।
अध्यक्षका उम्मेदवारमा रवीना बाहेक अन्य तीनले विधानको हुर्मत लिएका छन्। त्यसमा बद्री र महेशमा प्रतिस्पर्धा भएको देखिएको छ।
‘टिम बद्री‘ को गोप्य बैठकमा रोबिनको इन्ट्री
उपाध्यक्षका उम्मेदवार मध्ये अहिले सामाजिक संञ्चालमा अलिक बढी हल्लीखल्ली जापानका व्यवसायी रोबिन शेरचनको छ। तीन दशक देखि जापानमा व्यापार गर्दै आएका रोबिन अहिले टिममा पर्नका लागि तानातानमा छन्।

सुरुमा उनी टिम बद्रीको उम्मेदवार भनी चर्चा गरिएको थियो। तर जापानमै व्यवसाय गर्दै आएका अध्यक्षका उम्मेदवार महेशलाई क्रस गर्न रोबिनलाई नैतिक चुनौती देखिएको थियो।
उनले टिकट पाए सम्म टिम महेशमै अट्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए। त्यति हुँदा हुँदै उनी टिम बद्रीको चुनावी सभामा सम्बोधन गर्न पुगे। त्यस पछि टिम महेशले उपाध्यक्षमा रोबिनको नाम र फोटो राख्दै पोस्टर बाहिर ल्यायो।
तामझामका साथ काठमाडौँमा ओर्लिएका रोबिनले बुधवार सबैलाई चकित पारे। उनी राति टिम बद्रीको गोप्य बैठकमा देखिए।
बैठकमा सहभागी एक सदस्यका अनुसार रोबिनले जापानमा टिम बद्रीको राम्रो प्रभाव रहेको ब्रिफिङ गरेका थिए। जापानमा रहेका रोबिन निकटका एक सदस्यका अनुसार यस पटक उनले चुनावका लागि राम्रो बजेट खर्च गरेका छन्।
‘उहाँ सबै टिममा परेर चुनाव जित्ने तयारीमा हुनु हुन्छ। अध्यक्षका दुवै जना उम्मेदवारको बास्केटमा उहाँले लगानी गर्नु भएको छ।’ ती सदस्यले समाज टाइम्सलाई भने।
काठमाडौँमा उम्मेदवारहरूको बैठक: बद्री टिम उत्साहित

काठमाडौँमा उपलब्ध उम्मेदवारलाई भौतिक रूपमा र अन्यलाई भर्चुअल मार्फत जम्मा गराइ गरिएको टिम बद्रीको बैठकमा परिस्थित राम्रो रहेको विश्लेषण गरिएको छ।
समाज टाइम्सको सम्पर्कमा आएका ती सदस्यका अनुसार टिम समावेशी बनेको, असन्तुष्टि नरहेको र सबै जना उत्साहित रहेको निष्कर्ष बैठकमा सुनाइएको थियो। महेश टिममा कोषाध्यक्ष देखि कतिपय पदमा उम्मेदवार नै नपाउँदा पनि आफूहरूलाई सजिलो भएको विश्लेषण गरिएको थियो
यद्यपि कुनै पनि समयमा चुनाव भाँडिन सक्ने भन्दै त्यस तर्फ सचेत रहने र मतदातालाई जोगाउने अबको रणनीति बनाइएको जनाइएको छ।
