चिलीमा झुन्डिएको अवस्थामा फेला परेका केसीको पोस्टमार्टम रिपोर्ट सार्वजनिक हुन ढिलाइ

पेन्सिल्भेनिया । अघिल्लो साता अमेरिकी महादेश चिलीमा रहेका नेपाली युवा व्यवसायी विनोद केसीको शव झुन्डिएको अवस्थामा फेला परेको खबर सार्वजनिक भयो। विनोद निकटका अनुसार सन् २०१६ मा त्यहाँ पुगेका उनी गैर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद् (एनसीसी)चिलीका वर्तमान उपाध्यक्ष हुन्।
नेपालको रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ७ का बासिन्दा विनोदले चिलीमा पछिल्लो समय साथीहरूसँग मिलेर रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने तयारी पनि गरेका थिए ।
गत बुधवार आफू बस्ने टाउन नजिकै रहेको बगैँचाको रुखमा झुन्डिएको अवस्थामा विनोदको शव फेला परेको थियो। उनको पार्थिव शरीर अहिले अस्पतालमा रहेको छ । विनोदले किन पासो लगाए भन्ने अहिले सम्म खुलेको छैन।
घटनाको अनुसन्धान भइरहेकोले पोस्टमार्टम भए पनि रिपोर्ट सार्वजनिक गर्न ढिलाइ भएको उनका साथी एवं अफ्रिकी राष्ट्र सेसेल्सकाका एनआरएनए अध्यक्ष मनोज विकेले समाज टाइम्सलाई बताए। मनोजले विनोदको घर परिवारसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै आर्थिक अभावका कारण पार्थिव शरीर लिनका लागि कोही आउन सक्ने अवस्था नरहेको बताए ।
विनोदका भाइ एक वर्षदेखि अफ्रिकामा अलपत्र परेका छन् । उनका परिवारमा दुई दाजुभाइ मात्र हुन्। मनोजका अनुसार दलालको फन्दामा परेर अमेरिका आउने प्रलोभनमा गत वर्ष देखि अफ्रिकामा अलपत्र परेका छन् । भाइको उद्धार र घर परिवारको हेरचाहका कारण पनि विनोदमा केही तनावमा भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि उनी यसबारेमा खुल्ने गरेका थिएनन्। उनी विवाहित हुन्।
अहिले उनको शव नेपाल पठाउनका लागि सहयोग सङ्कलन गर्ने तयारी गरिएको बताए पनि खर्च धेरै लाग्ने भएकाले परिवारको अनुमति भएमा चिलिमै दाहसंस्कार गर्ने तयारी गरिएको छ। ‘कम्तीमा १५–१६ हजार अमेरिकी डलर खर्च लाग्ने बताउँदै नेपाल पठाउन भन्दा यतै अन्त्येष्टि गर्ने योजना बनाएका छौँ’ विकेले भने ।
चिलीमा अहिले नेपालीका संख्या एकदमै कम छ । एक सयदेखि एक सय ५० जनासम्म त्यहाँ नेपाली रहेको र नेपालीहरूबाट सहयोग उठाउने तयारी पनि गरिएको जनाइएको छ ।
चिलीको कानुन अनुसार कुनै पनि व्यक्तिको निधन हुँदा परिवारका सदस्यको अनिवार्य उपस्थिति हुनु पर्ने भए पनि सरकारले पहल गर्दा उनको शव अरूलाई पनि दिन सक्छ ।
यस्तो अवस्थामा रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको बताइएको छ । परराष्ट्रले ब्राजिलमा रहेको राजदूतावासले चिली पनि हेर्ने भएकाले त्यसका लागि पहल गर्न भनेको जनाइएको छ ।
ब्राजिलको दूतावासले त्यहाँको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरे पछि त्यहाँको सरकारले एनआरएनए अभियन्तालाई शव हस्तान्तरण गर्ने र त्यसपछि अन्त्येष्टिको प्रक्रिया अघि बढ्ने विकेले बताए ।