विश्वकप क्रिकेट आजदेखि, इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै
हरेक ४ वर्षमा आयोजना हुने विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरुहुँदै छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको आयोजनामा यस पटक भारतमा हुन लागेको प्रतियोगितामा यसअघिको संस्करणजस्तै १० टिमले प्रतिस्पर्धा गर्दै छन् ।
विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्गल्याण्ड, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । १० टिमका बीचमा ४८ खेल हुने छन् । एकले अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष ४ मा पुग्ने टोलीले सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेताबीच उपाधि भिडन्त हुने छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् । नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने एकदिवसीय विश्वकप १३ औँ संस्करणको भारतस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुने छ । इंग्ल्याण्ड डिफेन्डिङ च्याम्प्यिन हो भने न्युजिल्याण्ड उप विजेता बनेको थियो ।
विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नाई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर १९ मा हुनेछ ।