एसियाली खेलकुद : कबड्डीमा नेपाल सेमिफाइनलमा,पदक पक्का

काठमाडौँ/ हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह ‘बी’ को उपविजेता हुँदै बुधवार सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
तीन टिम रहेको यो समूहमा जितसँगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो । लगातार २ हारसँगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।
सेमिफाइनल प्रवेश गरेसँगै नेपालले कम्तीमा कांस्य पदक निश्चित गरेको छ । नेपालले सेमिफाइनलमा शुक्रवार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईंबीच शुक्रवारै हुनेछ ।
ब्याडमिन्टन
ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन बुधवार प्रिक्वाटरफाइनलमा रोकिएकी छन् ।
बिन्जियाङ जिम्न्याजियममा चीनकी विन्जियो हेले नेपालकी रशिला महर्जनलाई २१–० र २१–४ को सोझो सेटमा पराजित गरिन् । रशिलाले मंगलबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउँदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
मिक्स डबल्स र पुरुष डबल्समा पनि नेपाली खेलाडी पराजित भएका छन् । मिक्स डबल्समा चीनका सिवेइजेङ र याचिङ हुवाङको जोडीले नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीलाई २१–४ र २१–७ को सोझो सेटमा हराए । पुरुष डबल्समा सिंगापुरका जी जु नेको जोडीले नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीमाथि २१–१ र २१–४ को जित दर्ता गरे ।
भलिबल
महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल बुधवार ३–१ ले पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजिमा भारतले नेपाललाई २५–३३, २६–२८, २५–२३ र २५–१७ को सेटमा पराजित गर्यो ।

नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठ बाहेकका बाँकी स्थान छुटाउनको लागि पनि खेल हुने भएको हुँदा नेपाली महिला टोलीले अरू खेल खेल्ने मौका पाएको हो । समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पछि परेको थियो ।
भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२ औँ स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ ।
हङकङलाई पराजित गरेमा नेपालले नवौँ स्थानको लागि अर्को खेल खेल्ने छ । नेपाल पराजित भएमा ११ औँ स्थानका लागि अन्तिम खेल खेल्ने छ ।