अमेरिकामा नेपाली भाषी भुटानी बारेमा फिल्म बन्दै, कलाकारको खोजी

पेन्सिल्भेनिया,अमेरिका/ मर्नु अगाडि जीवनमा एक पटक आफ्नो जन्मथलो कुल्चिने इच्छा बोकेर बसेका लाखौँ नेपाली भाषी भुटानीहरूको कथा समेटेर नेपाली कथानक चलचित्र बन्ने भएको छ।
विनोद पौडेलको निर्देशनमा ‘द वर्ड ह्याप्पियस्ट मेन’ अर्थात् संसारको सबैभन्दा खुसी मानिस नामक नेपाली चलचित्र बन्न लागेको हो।
विनोदको चलचित्र बुलबुका निर्देशक हुन्। द वर्ड ह्याप्पियस्ट मेन चलचित्रको कथा पनि पौडेलले नै लेखेका हुन्।
चलचित्र अमेरिकाको ओहायो राज्यको एक्रोनमा छायाङ्कन हुने जनाइएको छ। चलचित्रको निर्मातामा अमेरिका निवासी अमिताभ जोशी र राजेन्द्र ठकुराठी रहेका छन्।
जोशीका अनुसार नेपाली भाषी भुटानी अमेरिकनको जीवन कथालाई चलचित्रमा उतार्न लागिएको हो।
‘अमेरिकामा पूर्व फुटबल खेलाडी बिष्णु भन्ने एक पात्र छन्, मर्नु अगाडि एक पटक भुटानको माटो कुल्चनु पाउ भन्ने उनको चाहाना छ, त्यही कथामा चलचित्र बन्छ।’ चलचित्र निर्माता जोशीले समाज टाइम्स सँग भने।
जोशीले अमेरिकामा रहेका नेपाली, नेपाली भाषी भुटानी मध्येबाट ६ जना कलाकारको खोजी भइरहेको पनि बताए।
‘मुख्य एक जना कलाकार हामी नेपालबाट नै ल्याउँदै छौ, बाँकी ६ जना कलाकार हामी अमेरिकामा नै खोजिरहेका छौ।’ निर्माता जोशीले भने ‘कलाकारलाई हामी पारिश्रमिक दिन्छौ।’
जोशीले आफूहरूलाई गुनगुन पात्रका लागि १७-१८ वर्ष, सविना र राधाका लागि २५-३५ वर्षको महिला कलाकार चाहिएको बताए।
यसै गरी पुरुष तर्फ निरञ्जन पात्रका लागि ३२ वर्ष,निप्साङका लागि ३५-४५ वर्ष,विभुसनाका लागि ६० वर्षको कलाकार चाहिएको पनि जोशीले बताए।
अमेरिका र क्यानडाका नेपाली भाषा बोल्ने इच्छुक कलाकारले आफ्नो व्यक्तिगत विवरण सहित (एउटा संक्षिप्त परिचय भिडियो) twhmthefilm@gmail.com मा इमेल गर्न आग्रह गरिएको छ।

