छोङछिङमा प्रधानमन्त्री भेटवार्ता
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरेका छन् ।
चिनियाँ सहर छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले मंगलवार महानगरपालिकामा भेटवार्ता गरेका हुन् । वार्तामा द्विपक्षीय हित र आपसी सहयोग एवं समझदारीका विषयमा कुराकानी भएको सचिवालयले जनएको छ। यसअघि छोङछिङ पुग्दा प्रधानमन्त्रीलाई सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका थिए ।
भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चियाचुन र आफूबिच पहिला पनि भर्चुअल्ली कुराकानी भएको र अहिले प्रत्यक्ष कुराकानी हुन पाउँदा खुसी लागेको बताउँदै छोङछिङ शहरले विगतमा दिएको राजनीतिक योगदान र हिजोआज विकास निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताए । यस शहरले सामाजिक तथा आर्थिक प्रगतिका लागि स्पष्ट विचारका साथ लिइएका रणनीतिहरूको उनले प्रशंसा गरे ।
त्यस्तै सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य चियाचुनले प्रधानमन्त्री प्रचण्डसँग विगतमा भएका गहिरो कुराकानीबाट उच्चस्तरको सम्बन्ध स्थापित भएको बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा रहनुभएका बेला नेकपा माओवादी केन्द्रको निमन्त्रणामा आफूले नेपालको भ्रमण गरेको उल्लेख गर्दै सो भ्रमणका बेला पनि द्विपक्षीय हितका बारेमा छलफल भएको बताए । उनले आपसी हित प्रबन्धनका लागि आफू सदैव तयार रहेको उल्लेख गरे ।
फोटो प्रधानमन्त्रीको सचिवालय