विद्यालय शिक्षा विधेयक परिमार्जन गर्न कांग्रेसले थाल्यो पहल

काठमाडौं । नेपाली कांग्रेसले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक परिमार्जनका विषयमा सरोकारवाला निकायसँग छलफल गरेको छ । संसद भवन नयाँ बानेश्वरमा आज भएको छलफलमा कांग्रेसले विभिन्न २० संस्थाका प्रतिनिधिहरुलाई बोलाएको हो ।
नेपाली कांग्रेसको सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विद्यालय शिक्षासम्बन्धी विधेयकका विषयमा सरोकारवाला निकाय (व्यक्ति)सँग छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार संसदीय दलले आज छलफल गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । छलफलका क्रममा महत्वपूर्ण सुझाव आएको बताउँदै त्यसका आधारमा विधेयकलाई परिमाजर्न गर्नका लागि नेपाली कांग्रेसले भूमिका खेल्ने पनि बताए ।
कांग्रेसले आज शिक्षाका क्षेत्रमा काम गरिरहेका २० संस्थाहरुका धारणा सुनेको हो । आजको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं कार्यवहाक प्रधानमन्त्री पुर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापासहितका शीर्ष नेताहरुको सहभागिता थियो ।
यस्तो छलफल भोलि बुधबार पनि हुने प्रमुख सचेतक लेखकले बताए । बुधबार विद्यालय शिक्षासम्बन्धी विधेयकका विषयमा बिशेषज्ञ र विधेयक निर्मणका क्रममा सहभागी विज्ञहरुसंग छलफल गर्ने तयारी गरिएको छ ।

आजको छलफलमा उपस्थित भएकी नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विधेयकका सन्दर्भमा सरकारसँग भएको सहमति लगाएतका विषयमा छलफल भएको जानकारी दिइन् । साथै उनले अहिले पनि राहत शिक्षकहरुको आन्दोलन जारी नै रहेकाले त्यसको सम्बोधनका लागि आग्रह गरेको बताइन् ।
त्यसैगरी छलफलमा सहभागी भएका राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले आफुहरुको मागलाई महासंघले नै वेवास्ता गरेको बताएका थिए ।
विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेको थियो । वार्तापछि महासंघले आन्दोलनका सवै कार्यक्रम फिर्ता गरिसकेको छ । तर राहत शिक्षकहरुले भने आन्दोलन कायमै राखेका छन् ।