सहकर्मीमाथिको कुटपिट विरोधमा डाक्टरहरू सडकमा : ऐन कार्यान्वयनमा जोड

काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालका सहकर्मीमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
मङ्गलवार माइतीघर मण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् ।
आन्दोलनमा सहभागी डाक्टर आनन्द सिंहले, कानुन अनुसार सहकर्मीमाथि हातपात गर्नेलाई कारबाही हुनुपर्ने आफूहरूको माग रहेको बताए । ‘हामीले कानुनी ऐन हामीसँग छ । त्यो अनुसार कारबाही अगाडि बढेको छैन । स्वास्थ्य सुरक्षा ऐन छ त्यो ऐन अनुसार कारबाही अगाडि बढ्नु पर्यो ।’ उनले भने ।
त्यस्तै, डाक्टर कपिल गौतमले पनि देशका विभिन्न ठाउँमा सहकर्मीहरूमाथि आक्रमण भए पनि सरकारले त्यसलाई गम्भीर रूपमा नलिएको भन्दै आक्रोश पोखे ।
उनले भने ‘देशको दुर दराजमा काम गर्ने साथीहरू, दुर्व्यवहार र सांघातिक हमतामा पर्नु भएको छ । जस्तै हेटौडाको काण्ड, चितवनको काण्ड, पोखराको काण्ड, यसरी नियोजितरुपमा हमला गरिएता पनि नेपाल सरकार गृह प्रशासनले, स्थानीय सरकारले यसलाई खासै गम्भीर रूपमा नलिएर कानुनी प्रक्रिया अगाडि नबढाएकोले हामी खेद प्रकट गर्दछौँ । हाम्रो सुरक्षाको प्रत्याभूति गर्नु पर्यो राज्यले ।’
दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटै बुट, अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ ? लगायत प्लेकार्ड बोकेका थिए ।
लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएपछि मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेको थियो । सोही घटनालाई लिएर आज काठमाडौँमा पनि डाक्टरहरू विरोधमा उत्रिएका हुन् ।