एसियाली खेलकुद: बक्सिङ रविन सफल

काठमाडौं/ हाङझाव एसियाडअन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापाले जित हात पारेका छन् । पुरुष ५१ केजीमुनि रविनले इन्डोनेसियाका दियो कोएबानुलाई ४–१ अंकले पराजित गरे । जितसंगै रविनले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
हाङझाव जिम्नाजियममा भइरहेको प्रतियोगितामा रविनले प्रिक्वाटरफाइनलमा उत्तर कोरियाका चोनयोङ सालाइलाई प्रतिद्वन्द्वी पाएका छन् ।
महिला ६६ केजीमुनि नेपालकी विनिता थापा मगर चाइनिज ताइपेईंकी चिन चेन नियनसंग आरएससीका आधारमा पराजित भइन् । पुरुष ७१ केजीमुनि नेपालका दीपेश लामा भारतका निशान्त देवसंग ५–० ले पछि परे ।

महिला फुटबल :
हाङझाव एसियाडअन्तर्गत महिला फुटबलमा नेपाल पराजित भएको छ । वेन्झाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको समूह ‘डि’ को लिगमा नेपाल जापानसंग ०–८ गोलअन्तरले पराजित भयो ।
पहिलो पटक एसियाली खेलकुदमा सहभागी महिला फुटबलमा नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसंग २–० ले पराजित भएको थियो ।
लगातार दुई हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार दक्षिण एसियाली राष्ट्र बंगलादेशको सामना गर्ने छ ।