गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइँदै
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमान्डर स्वर्गीय गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइँदै छ ।
दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण तथा सालिकमा माल्यार्पण गरिएको छ ।
मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिस्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्त्वपूर्ण भूमिका रहेको छ ।
को हुन् गणेशमान ?
काठमाडौँको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला बिपी कोइरालासँग मिलेर उनले २००३ सालमा नेपाली काँग्रेस स्थापना गरेका थिए ।
२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए । सङ्घर्ष हिसाबले बिपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठुला समर्थकका रूपमा चिनिन्थे ।
२०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर कारावासको सजाय भोगे । जेलमा कठोर यातना पाउँदा पनि गोपनीयता नखोलेको र आफ्नो लक्ष्यमा दृढ रहेपछि उनलाई ‘लौह पुरुष’ –फलाम जस्तो कठोर मानिस)को उपमा दिइएको हो ।
२०३३ सालमा बिपीसँगै उनी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । तर, तत्कालीन पञ्चहरूबाट बिपीसँगै उनलाई पनि मृत्युदण्डको सजाय सुनाएको थियो । उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
बिपीको निधनपछि काँग्रेसको सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका धनी गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।