खानकै लागि संर्घष गर्नु लज्जास्पद : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, आजको युगमा पनि खानकै लागि सङ्घर्ष गर्नु पर्ने अवस्था आउनु दुखद भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौँमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१ औँ शताब्दीमा खानाकै लागि सङ्घर्ष गर्नु पर्ने स्थिति लाजमर्दो विषय भएको बताएका छन् ।
उनले मानिसकै गलत प्रवृत्तिका कारण माटोको उर्वरा भूमि नास भएको भन्दै उनले बाच्नका लागि मात्रै सङ्घर्ष गर्नु पर्ने स्थिति लज्जास्पद भएको बताए ।
त्यस्तै पर्याप्त सम्भावना भएर पनि विद्युत् उत्पादन नभएको कारण नेपालमा विद्युत् वितरणमा समस्या आएको टिप्पणी गरे ।
उनले उत्पादन र विकासमा प्रविधिको प्रयोग गरेमा विद्युत्को खपत पनि बढी हुने बताए । कृषिको आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने उनको भनाई छ ।
उनले भने, ‘अहिले उद्योगहरूले विद्युत् पाएको छैन । सब स्टेसन छैन त्यस कारण विद्युत् सप्लाई गर्न सकिएको छैन । उद्योगहरूले अहिले पनि मागिरहेका छन् । हामीलाई चाहिँदो विद्युत् उत्पादन भएको छैन । पुग्दो उत्पादन भए पनि हामीले कसरी उपभोग गर्ने पनि सिकाएको छैन । ’
अर्को प्रसङ्गमा उनले नेपाल मासुमा आत्मनिर्भर भयो भने पनि ट्रकका ट्रक खसी बोका आयात भइरहेको भन्दै भने, ‘नेपाल मासुमा आत्मनिर्भर भयो भनेको छ र पनि दिनका दिन ट्रकका ट्रक खसी बोका आइरहेका छन् । आत्मनिर्भर छ भने खसी बोका कहाँ जान्छ ? त्यसको पनि जानकारी लिन आवश्यक छ । आत्मनिर्भर छौँ भनेको छ । मुस्ताङका च्याङ्ग्रा पोखराबाट यता आउँदैनन् । ’