महेश श्रेष्ठले गरे जापानबाट चुनावी अभियानको सुरुआत
टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११औं महाधिवेशनका लागि काठमाडौंबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे लगत्तै महेशकुमार श्रेष्ठ चुनावी अभियानका लागि जापान पुगेका छन् ।
श्रेष्ठसँगै रहेका महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीसहित नारिता विमानस्थलमा उत्रिएका उनलाई एनआरएनएका अभियन्ताहरूले स्वागत गरेका थिए ।
१७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रबार काठमाडौंमा एक समारोहबीच अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित चुनावी अभियान सुरु गरेका श्रेष्ठले जापानमा भएको स्वागतले उत्साहित गराएको प्रतिक्रिया दिए । जापानका विभिन्न शहरबाट स्वागतका लागि पुगेका शुभेच्छुकहरुले उनलाई विजयको शुभकामना दिएक थिए । विमानस्थलमा संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै संघको अध्यक्षमा विजयी भएको तीन महिनाभित्र एक्सन प्लान र रणनीति बनाएर काम गर्ने प्रतिबद्धता जनाए ।
‘प्रवासी नेपाली र नेपाल सरकारले एनआरएनएसँग ठूलो आशा अपेक्षा राखेको छ । त्यसैले हामीले दुई बर्ष भित्र अथाह काम गर्नुपर्ने बाध्यता छ । म काम गर्नका लागि नै एनआरएनएको नेतृत्व गर्न चाहेको हुँ,’ उनले भने ।
त्यस्तै एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा महासचिवका प्रत्यासी सुवेदीले जापानमा भएको स्वागतले उत्साहित गराएको प्रतिक्रिया दिंदै संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरूलाई स्वायत्तता दिनका लागि आफूले प्रयास गर्ने बताए ।
उनले भने,‘अध्यक्ष श्रेष्ठसहितको हाम्रो टीम जुझारु र लगनशील छ । हामी काममा विश्वास गर्छौं र दुई बर्षभित्र गैर आवसीय नेपालीहरुका पक्षमा र मात्रीभूमिका लागि परिणाममुखी काम गरेर देखाउनेछौं ।’
श्रेष्ठ र सुवेदी जापान पछि कोरिया, मध्यपूर्व, मलेसियालगायतका देशहरुमा पुगेर गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ ।