बाल्यकालमा घोडचढी र पौडीको सौखिन थिएँ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचढी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै आफूलाई घोडचढी र पौडीमा खुबै चाख रहेको बताएका हुन्।
‘पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पुर्याएको छ’, राष्ट्रपति पौडेलले भने, ‘अहिले त स्विमिङ पुल छन् त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्दथ्यो । म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथे ।’ आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको उनको भनाई छ।
बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात् शोक न सुर्ता भोक न भकारीको रहने गरेको उनको भनाई छ । राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्न पाए हुन्थ्यो भने ।
त्यस बेला धानको कुनियो, बिटा र भकारीमा लुकामारी खेलेको, गाईबस्तु चराउने गरेको, भात पकाई खेल्ने गरेकाले हिलो मैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको उनले स्मरण गरे ।
“ हाम्रो पालामा शिक्षाको प्रचार अलि ढिलो भयो, अहिले जस्तो विद्यालय भवन, कुर्ची बेन्च थिएन, हजुरबाले घरमा राख्नुभएको गुरुबाट शिक्षा प्राप्त गरे, घरनजिकको वरपीपलको चौतारीका डुङ्गाका छपनीमा बसेर पढियो, सानो काठको पाटीमा रातो माटोको धूलो राखेर खरको डाँठले लेखेर कखरा अक्षर चिनेको हो”, उनले भने ।
राष्ट्रपति पौडेलले हिजोको भन्दा आजको रहनसहन र जीवनस्तर बदलिएकाले अहिलेका बालबालिकाको कुरा सुन्दा परिपक्व र विचारमा सचेत रहने गरेको पाएको समेत बताए ।
बालबालिकाको आधारभूत आवश्यकतासहित समग्र नेतृत्व विकासको विषयलाई नारामा सीमित नराखी सरकारले व्यवहारमै देखिने गरी काम गर्न सुझाव दिए ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बालबालिका भनेका भविष्यका कर्णधार हुन भन्ने कुरालाई ख्याल गर्दै राज्यले उनीहरूको हितका लागि आवश्यक प्रयास गरेको दाबी गरे ।
उनले बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने यस वर्षको बाल दिवसको नाराले नै पुष्टि गरेको छ भन्दै उनीहरूले उठाएका माग पुरा गर्न सरकार प्रतिबद्ध छ भने ।
मन्त्रालयका सचिव सुमनराज अर्यालले सामाजिक, आर्थिकलगायतका विविध समस्या रहे पनि बालबालिकाको संविधान प्रदत्त हक अधिकार व्यवहारमा कार्यान्वयन गर्न सरकारले काम गर्दै आएको बताए ।
बालबालिकाको तर्फबाट बोल्दै कीर्तिपुरकी प्रेक्षा अधिकारीले बालबालिकामा लगानी भनेको मानव विकासको लागि हो र यसले जीवनभर सन्तोष दिन्छ भन्दै समृद्ध नेपाल तब हुन्छ जब बालबालिकाप्रति सचेत र सजग हुन्छौ भनिन् । उनले असीको दशकलाई बालबालिकामा लगानी दशक घोषणा गर्दै कार्यान्वयनमा ल्याउन माग गरिन् ।