विदेशमा रहेका लाखौँ युवाको भविष्यबारे नसोचे रूपान्तरण असम्भव: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौँ युवाहरूको भविष्यबारे नसोचे देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव नहुने बताएका छन् ।
‘तेस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२३’ लाई शनिवार सम्बोधन गर्दै उनले देशका युवाको भविष्यबारे सोच्न आवश्यक भएको भन्दै उनीहरूको आत्मसम्मान, सुरक्षा कायम गर्न र देशभित्रै रोजगारी सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागेको बताए ।
उनले भने, ‘विदेशमा रहेका लाखौँ युवाहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यस पटक के गरी उनीहरूको हितको रक्षा हुन सक्छ, के गरी उनीहरूको आत्मसम्मान र सुरक्षा कायम हुन सक्छ र कसरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यो दिशामा गम्भीरतापूर्वक लागिरहेको जानकारी गराउन चाहन्छु ।’
उनले विदेशमा रहेका युवाहरूलाई सम्बोधन गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरेको भन्दै त्यसमा अहिलेसम्म झन्डै ३ लाख युवाहरू आबद्ध भइसकेको जानकारी दिए ।
उनले भने, ‘सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्त्वपूर्ण प्रयास अगाडि बढाएको छ । म प्रधानमन्त्री भएको केही समयमै विदेशमा रहेका युवाहरूलाई सम्बोधन गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरिएको थियो । अहिलेसम्म झन्डै ३ लाख युवाहरू त्यो कोषमा आबद्ध भइसकेका छन् ।’
यस्तै, उनले नेपाली युवालाई भोलिका उत्तराधिकारी मात्रै होइन, वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको भन्दै युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताए ।
नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन– २०८० मा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन
(३० भाद्र २०८०, काठमाडौँ)
कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षज्यू,
माननीय युवा तथा खेलकुद मन्त्रीज्यू,
महामहिम राजदूतज्यू,
वरिष्ठ उद्यमी एवं एनआरएनएका संस्थापक अध्यक्षज्यू,
राष्ट्रिय वाणिज्य बैङ्कका कार्यकारी अधिकृतज्यू,
नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्षज्यू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ लाई युवा उद्यमशीलता वर्ष घोषणा गरेको पृष्ठभूमिमा युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको छ । सर्वप्रथम कार्यक्रमका आयोजक राष्ट्रिय युवा परिषद्, नेपाल बिजनेस इन्स्टिच्युट लगायतका सङ्घसंस्था एवं सहभागी सबै नव उद्यमी युवाहरूमा हार्दिक धन्यवादसहित सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।
राष्ट्रिय युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिन्छ । जनगणना २०७८ अनुसार त्यस्ता युवाको जनसङ्ख्या १ करोड २४ लाख अर्थात् ४२.५६ प्रतिशत छ । युवाको विकास भन्नु नै मूलतः समाज र देशको विकास हो । युवा जनसङ्ख्या उच्च रहेको यो समय जनसाङ्ख्यिक लाभांशको दृष्टिले विशिष्ट अवस्था हो, जुन धेरै समय नरहन पनि सक्छ । त्यसैले जनसाङ्ख्यिक लाभांश नगुमाउँदै युवाको सर्वाङ्गीण विकासका निम्ति हामीले प्राथमिकतापूर्वक ध्यान केन्द्रित गर्नुपर्दछ ।
दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन, राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकूल बनाउँदै नेपाली युवालाई भविष्यका कर्णधार मात्र नभएर वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार प्रतिबद्ध छ । यस सम्मेलनले युवाहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।
हामीले एकातिर युवामा रहेका ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपरेको छ, अर्कोतिर युवाहरूलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । विदेशमा रहेका लाखौँ नेपाली युवाहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यस पटक के गरी उनीहरूको हित रक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यस दिशामा गम्भीरतापूर्वक लागिरहेको छ ।
वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्त्वपूर्ण प्रयास अगाडि बढाएको छ । विदेशमा रहेका लाखौँ युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया पनि सुरु भएको छ । केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आबद्ध गर्ने लक्ष्य लिएका छौँ । त्यसै गरी देशको अनौपचारिक क्षेत्र र स्वरोजगार क्षेत्रमा क्रियाशील श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक कार्यक्रममा आबद्ध गर्ने प्रक्रियाले तीव्रता पाएको छ । यो कार्यक्रमलाई थप प्रभावकारी बनाएर युवाहरूले देशभित्रै भविष्य देख्ने वातावरण निर्माण गर्ने जिम्मेवारी पनि हाम्रै काँधमा छ ।
नेपाली युवाको सर्वाङ्गीण विकास गर्दै हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्ष २०८०।८१ लाई सरकारले युवा उद्यमशीलता वर्षको रूपमा मनाउने घोषणा गरेको कुरा यहाँहरूलाई अवगत नै छ । नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउनका निमित्त सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ । यसबाट सकारात्मक परिणाम निकाल्नका निम्ति युवाको उत्साह र सहभागिताको पनि उत्तिकै आवश्यकता रहन्छ । यसको लागि म सम्पूर्ण नेपाली युवालाई विशेष अपिल गर्दछु ।
सात दशक लामो सङ्घर्षपछि संविधानसभाबाट जारी भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रूपमा ग्यारेन्टी गरेको छ । यही यथार्थलाई आत्मसाथ गर्दै सरकारले सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन लगायतका महत्त्वपूर्ण ऐन संसद्मा प्रस्तुत गर्ने निर्णय गरिसकेको छ । यी ऐनहरूको निर्माणले संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र कार्यान्वयन गर्न महत्त्वपूर्ण योगदान पुग्नेछ ।
अन्त्यमा युवा उद्यमशीलतालाई प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस महत्त्वपूर्ण सम्मेलनले निकालेका जायज र सकारात्मक निष्कर्षलाई सरकारका तर्फबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै फेरि एक पटक नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८० को पूर्ण सफलताको शुभकामनासहित बिदा हुन्छु, धन्यवाद ।