‘प्रचण्डको चीन भ्रमणपछि सम्बन्ध थप बलियो हुन्छ’
काठमाडौँ । माओवादी केन्द्रले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको चीन भ्रमणले दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेको छ ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर सो पार्टीले, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको हो ।
पार्टी प्रवक्ता अग्नि सापकोटाले, पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणले दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्ति गरेका हुन् ।
त्यस्तै उनले नेपालको शान्ति प्रक्रिया पुरा भएको घोषणा गर्न पनि राष्ट्रिय वातावरण नबनिसकेको स्वीकार गरे ।
‘प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको सभामा भाग लिन जाँदै हुनुहुन्छ । शान्ति प्रक्रिया पुरा भएको घोषणा गर्नको लागि राष्ट्रिय अवस्था राम्रो हुनुपर्छ र त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्त्वपूर्ण भूमिका हुन्छ त्यस कारण उहाँले विश्व समुदायलाई अपिल गर्नुहुन्छ ।’ उनले भने ‘अर्को कुरा जलवायु परिवर्तनको असर र प्रभावको बारेमा, त्यस्तै अल्प विकसित राष्ट्रहरूको अध्यक्ष अहिले नेपाल छ । त्यस कारण पनि उहाँले अध्यक्षको हैसियतले विकास र समृद्धिको विषयमा ध्यानाकर्षण गर्ने गरी बैठकलाई सम्बोधन गर्नुहुन्छ ।’
चीन भ्रमणको समयमा नेपालको समग्र हितबारे कुरा हुने उनको दाबी छ ।
‘चीनमा अरनिको राजमार्ग स्तरोन्नति, चीनसँग पनि भौतिक पूर्वाधारको विषय, ट्रान्समिसन, नयाँ नाकाको कुरा, कृषिमा आधारित उद्योग, व्यापार घाटा कम गर्न देशका उत्पादित वस्तु निर्यात गर्ने विषयमा कुरा हुन्छ । ’ उनले भने ।
उनले पार्टी भित्रका अन्तर्द्वन्द्व पनि क्रमशः साम्य हुँदै गएको र पार्टी रूपान्तरणको चरणमा प्रवेश गरेको जिकिर गरे ।
‘अहिले हामी आत्म शुद्धि, आत्म सुधार, आत्मा नवीकरण र आत्मा अभिवृद्धिको चरणबाट अगाडि बढ्दै छौँ । यो आफैँलाई रूपान्तरण गर्ने विषय हो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान भनेपछि यसमा सबैभन्दा पहिला आफैँलाई परिवर्तन गर्नुपर्छ ।’ उनले भने ‘यो अभियानले मुख्य कुरा पार्टीभित्र भएको अन्तर विरोध, मुक्ति मोर्चाभित्र देखिएका अन्तर विरोधहरू क्रमशः हल हुँदै गएका छन् । यो हाम्रा लागि राम्रो पक्ष हो ।’
उनले रूपान्तरण अभियान आफ्ना नीति तथा कार्यक्रम तल्लो तहसम्म पुर्याउने माध्यमका रूपमा सफल भइरहेको बताए ।