तीज गीतको रूपान्तरण :कमल खनाल
प्रभाव
तीज नेपाली हिन्दु नारीहरूको एक मात्र महान् पर्व हो। जुन पर्वलाई हिन्दु नारीहरूले उत्सवका रूपमा मनाउने गर्दछन्। जब हिमालय पर्वतले पार्वतीको इच्छा विरुद्ध विष्णुसँग विवाह गरिदिने योजना बनाए त्यस पछि पार्वतीका सङ्गी साथीहरूले पार्वतीलाई हिमालय पर्वतका साथबाट खोसेर लगे अर्थात् अपहरण गरे, हरण गरे र घनघोर जङ्गलको बिचमा लगेर छोडे।
पार्वतीले त्यही नै बसेर महादेव पति पाउ भनी तपस्या गर्न थालिन। उनले महादेवलाई पतिका रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८ औ जन्ममा मात्र उनको तपस्या पुरा भएको र महादेव पति पाएको भन्ने शास्त्रमा उल्लेख भएको भन्ने गरिन्छ ।
उनको तपस्या पुरा भएर सोचे अनुसार नै महादेव पति प्राप्त गरेको हुनाले यही मान्यतालाई स्वीकार गर्दै विवाहित हिन्दु महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना र अविवाहिताहरूले आफूले चाहे जस्तो र सुयोग्य बर प्राप्त होस भनी तीजको व्रत बस्ने चलन चलेको भनिन्छ ।
पार्वतीले महादेव पति पाउ भनी गरेको व्रतबाट परेको प्रभावले हिन्दु विवाहित र अविवाहित महिलाहरू लाई व्रत बस्न प्रेरित गरिरहेको पाँउछौ।
भारतमा पनि राजस्थान,उत्तर प्रदेश,उत्तराखण्ड ,झारखण्ड र बिहारमा पनि हरितालिका तीज भनेर मनाउने गरिएको पाइन्छ। भने पन्जाब,चण्डीगढ र हरियानामा हरियाली तीज र उत्तर प्रदेश ,मध्य प्रदेश ,राजस्थान र बिहारका केही स्थानहरूमा कजरिया तीज भनेर उत्सव मनाउने गरेको पाइन्छ। यी सबै एउटा धार्मिक आस्थाको परिधिमा रहेर गरिने प्रचलन हुन। जुन प्रचलनले संस्कार र संस्कृतिलाई जन्म दिएको हुन्छ।
महत्त्व
हरितालिका तीज एउटा उत्सव मात्र नभएर एउटा धार्मिक आस्थाको परिधिमा रहेर गरिने प्रचलन पनि हो। जुन प्रचलनले संस्कार र संस्कृतिलाई जन्म दिएको हुन्छ।त्यस्तै तीजको धार्मिक र सामाजिक महत्त्व पनि छ। समाजलाई एकताबद्ध गराइ राख्न,समाजमा उत्पन्न विकृति र विसङ्गतिलाई उजागर गरेर समाजलाई सचेत गराउन ,पारिवारिक भेदभावको अन्त्य गराउनुका साथै सकारात्मक सोचको विकास गर्न पनि सहयोग पुर्याउछ। पति पत्नी बिचको सामीप्यता अटल राख्न र पार्वतीले चाहेको जस्तै सुयोग्य बर प्राप्त गर्न गरिने ध्यान र तपस्याको अनुकरण गर्न सिकाउनका साथै पछिल्लो पुस्तामा पनि धर्म र कर्म प्रतिको विश्वास जगाउन मद्दत पुर्याउछ। साथै परम्परागत चलिआएका प्रचलनलाई निरन्तरता दिन पनि यस पर्वको महत्त्व रहेको छ।
गीतको मान्यता र स्थापित संस्कृति
यही समय देखि तीजका गीत गाइन थालिएको भन्ने ठ्याक्कै समय एक्किन गर्न सकिएको अवस्था भने छैन। त्यसैले पौराणिककाल देखिनै चलिआएको भनेर अनुमान गर्न सकिन्छ। किनभने मानिसले आफ्नो जीवन पद्धति अनुसारका एकल गीतहरू धेरै अगाडी देखि नै गाइँदै आइएका र त्यसैलाई समयअनुसार सामुहिकीकरण गरेर गाइने प्रचलन विकसित गरिए पछि मात्र गीतले आकार पायो। त्यसैलाई पार्वतीले महादेव पति पाउन गरेको कठोर तपस्यासँग जोडिएकोले पनि गीत मानिसको मन भित्र पस्न र बस्न सफल भयो।
पार्वतीले जसरी नै अन्य नारीहरूले पनि भोगिएको जीवनको उत्खनन् नै तीज गीत हुन। तीज गीतलाई नै एकल गायनबाट सामूहिक गायनमा रूपान्तरण गरी गाइँदै आएका गीतहरू आजको अवस्थामा आइपुगेको भन्न सकिन्छ।तर हिजो र आजको गीतको बनोट, त्यसको आत्मा ,संवेग र भावनात्मक पक्षमा भने ठुलो अन्तर छ। हिजो पीडा सीमित घेरामा थिए, आज व्यापक छ।
हिजो बन पाखा ,मेलापात ,घर माइतका पारिवारिक दुःख पीडाबाट गीत जन्मिन्थे। आज परिवार ,समाज,देश र विदेशमा भोगिएका दुःख, पीडा र विसङ्गतिले गीत जन्मिन पुगेका छन्। यसरी नै जन्मिएका गीतले पारिवारिक मान्यता प्राप्त गर्दै संस्कार र संस्कृतिका रूपमा स्थापित हुँदै आइरहेको पाइन्छ।
हिजो पीडा अज्ञानतामा थियो, सीमित थियो। गीत गाइने घेरा सानो थियो। एकल पीडाबाट जन्मेको गीत परिवार र समाजलाई हस्तान्तरण हुन्थ्यो। आजका गीतका स्वरूप,शब्द ,शैली ,प्रस्तुति र भावमा धेरै परिवर्तन आएको पाइन्छ।
हिजो बन जङ्गल र मेलापातमा जन्मिएका गीतले जसरी पारिवारिक मान्यता प्राप्त गर्दै सामूहिक गलामा प्रवेश गर्यो त्यसरी पछिल्लो समयमा जन्मिएका तीज गीतहरूलाई समाज र शहरले मान्यता दिएर गीत गाइएको अवस्था छ। त्यति बेलाका गीतले मानवीय संवेदनामा संवेगात्मक पीडा बोध गराउँथ्यो।भने अहिलेका गीतले हामीलाई पीडा बोध सँगसँगै भरपुर मनोरञ्जन पनि गराइ रहेको पाउँछौ। एकल गायनबाट घर आँगनमा प्रवेश गरेको गीति संस्कारले आज समाज र शहरलाइ नै उल्लासमय बनाएको पाउँछौ।
भाषा,शैली र प्रस्तुति
पहिले गीतका शैलीमा शालीनता हुन्थ्यो ,सम्मान हुन्थ्यो ,संस्कार हुन्थ्यो र सामाजिक रूपमा पाच्य हुन्थ्यो। भाषा र शब्दमा मिठास हुन्थ्यो। सरल भाषामा व्यक्त गरिन्थ्यो। प्रस्तुति श्रुतिमय र मार्मिक हुन्थ्यो। पीडा हुन्थ्यो। त्यसले पारिवारिक र सामाजिक चेतनाको विकासमा मद्दत गर्थ्यो। भाषा शैली र प्रस्तुतिमा एकात्मकता पाइन्थ्यो।
अहिलेका गीतहरू मनोरञ्जनात्मक उत्तेजक र ब्यग्यका साथै दुःखहरू पनि घोलिएका हुन्छन्।
तीज गीतको इतिहास तीज मनाउने प्रचलन जतिकै पुरानो हो भन्न सकिन्छ। तीजको निरन्तरता सँगै तीज गीतले धेरै भाषा, शैली शब्द र प्रस्तुति र आकारमा परिवर्तन गर्दै विभिन्न सन्देश बोकेर धेरै लामो समय देखि यात्रा गरिनै रह्यो।
गीति यात्राले समाजलाई उथल पुथल गरायो, सामाजिक चेतना जगायो र समाजलाई बिस्तारै संस्कार सिकाउँदै संस्कृति स्थापित गर्दै अगाडि बढ्दै आइरहेको पाइन्छ। फलस्वरूप आजको गीति लय ,भाषा ,शैली ,शब्द र स्वरूपमा ठुलो परिवर्तन र विकास हुँदै आएको महसुस गर्न सकिन्छ। त्यसैले त पहिलेका भन्दा अहिलेका गीतका शब्द, प्रस्तुति, शैली र भाषामा धेरै परिवर्तन आएका र फड्को मारेको पाइन्छ।
गीतको रूपान्तरित अवस्था
१ गीतमा प्रारम्भिक समयका शब्द र प्रस्तुति
कुन वेला जाउली ,कुन वेला आउली
कुन वेला गरौली, देवताको ध्यान
उदाएमा जाम्ला ,अस्ताएमा आम्ला
मध्यनिमा गरौला ,देवताको ध्यान
हातमा जारी ,काँधमा सारी
कहाँ पो जान्छौ ,नुहाउन
कहाँको ल्याउँछौ ,निरमल जल
कस्को पाउँ, धुन्छौनी है
काशीको ल्याउला निरमल जल
कन्याको पाउँ धुनछ्यौ नि है
कन्याको पाउँ धोएर तिमिले
के को बर माग्छ्यौ नि है
सरमा सर कसेर लायौ,आगनीमा घुरान
हेरिरम जस्तो शीवजीकोमूर्ति सुनिरमजस्तो पुरान
पहेँलै फुल्यो सयपत्री फूल पुतली बस्यो थुँगामा
घुमेर आए पराशर ऋषि सत्यवती भेटे ढुङ्गामा
गुँड कहिल्यै नभत्कियोस्, बास बस्ने चरीको
ईश्वर सधैँ दाहिना हुन, छोरा छोरीको
यिनै माइती भन्दा खेरी, सबको भए नजाती
दिनुभयो बाबाले, पानी समाती
कूशपानी समातेर ,अर्कैको कोखमा सारेर
दिनुभयो बाबाले, माया मारेर
न केटोले मलाइ देखे, न त मैले ऊनलाई
बा आमाले बोले पुग्थ्यो, दिए उनैलाई।
सधैँ मलाइ अँध्यारो, कहिले आउला पूर्णिमा
बा ले मलाइ दिनु भयो ,बाँदर कुर्नेमा
घर जाने बाटो पनि ,काने दुनो जस्तो छ
एक पटक हेर्नु बाबा ,घर कस्तो छ
गोठैमा उज्यालो, माली भन्ने गाइले
घरैमा उज्यालो, दाजुभाइले।
वर्ष दिनको तीजमा ,लिन आउँछन् करले
केही भन्छन् कि लोकले, भन्ने डरले
दश भाइ भए पनि, यही घरमा अटाउने
एउटी छोरी भए पनि, डाँडै कटाउने।
भातलाई खामला कृष्ण भौलाइ फलेर
तरकारी खामला तामा बरिलै
तीजको खाजा पकाइ राखे भाउजू
बिर्साइ दिए आमा बरिलै
२ गीतमा मध्य समयका शब्द र प्रस्तुति
फल्या हाँगो झुक्छ भन्थे, धेरै पटक झुक्या हो
झुक्दा झुक्दै सबै सँग, यो मन दुख्या हो
लाउँछु खान्छु रमाउँछु, कोइ सँग नि चुक्दिन
तिम्लाइ पुगे मलाइ पुग्छ ,अब झुक्दिन
न माइती घर आफ्नो हुने, न छोरीको पराइ घर
मनको पिर पोखौँ भने, इज्जत जाने डर
मनमा जति पिर भए पनि ,यही मनमा दबाउने
आफै भित्र खुसी खोज्ने ,आफै रमाउने
छोरीबाट बुहारी भई ,मनमा पिर कति छन्
कुन चेलीलाई हुन्न राजै ,माइत आउने मन
सारै याद आउँछ बैनी, हुर्काएर खेलाको
धेरै कुरा बिर्से हौली ,बचपन बेलाको
तिम्रो दुःख सुनाउन ,केही अप्ठेरो नमान
सम्झ मलाइ तिम्रै घरको ,दिदी समान
जति माया गरे पनि ,यो मनमा छुँदैन
जन्मदिने आमा जस्तो ,कोही हुँदैन
दूध ख्वाएर झोलुगांमा, म्वाइँ खाएर गालामा
कस्तो जतन थियो आमा ,बाल्यकालमा
बाबाको बारी सुन्तला घारी, टिपेर मैले खाई छैन
घरमा दुख भएनि बाबा ,माइतमा रून आइ छैन
हाम्लाइ आशा छैन, एउटा सारी चोलीको
बरु हाम्लाइ आशा छ, मीठो बोलीको
बुहारीले बचन लाउँदा ,भित्र बसी रोउलानी
मैलो भाको कपडा नि ,आफै धोउलानी
छोरी घर गाको दिन, औला भाँची गनौला
छोरीले हो घर धानेको ,बल्ल भनौला
बाबाको आगनीमा ,इन्द्र कमल फूल फुलेको
बासनाले तानेर, मौरी भुलेको
मै माथि ठोक्कियो ,आमा तिम्रो माया
आइरन्छ झलिको, छैन भुलेको
छोरी माइत आउँछिन् भन्दै, बाबा खुसी हुनु भो
दाजु एक्लै घर पुग्दा ,आमा रुनु भो।
सिन्दूर दिने स्वामीजी नि, सोजो छैनन् म सित
यो मनको विरह, पोखौँ को सित
३ गीतको बर्तमानमा शब्द र प्रस्तुति
ओइ ओइ ओइ, जड्या पर्यो पोइ
कसो गरी सुधार्ने हो, सिकाइ देउन् कोइ।
ओइ ओइ ओइ, बिदेसिने पोइ
भिडियो कल गरे उनले ,एक छिन बोल्छु है
सात जनाको ग्याङ्ग हाम्रो ,सँगै डुलिन्छ
एकताल खाएर हेर त, संसार भुलिन्छ
खानसम्म खायौ रक्सी, ससुराली घरमा
भित्र पस्छु भन्दै थियौ ,तल्लो गरामा
ज्वाइँ आयो भनेर, खाना नदेऊ थालमा
जाडको छोक्रा देखियो ,ज्वाइँको गालामा
कट्ठै बर साइली,दुख पायौ नि
जाम भन्दा मानिनौ, बल्ल खायौ नि।
चोली पुराना ,सारी पुराना
किन लाउन पर्यो, सुनको चुराना।
तीसबर्ष पाखुरी,माइतीलाई दिएको,कल्ले देख्यो र?
बाँकी यो जिन्दगी,अर्कैलाई दिएको, कल्ले देख्यो र?
धनगढी बसम ,सुर्खेत बसम
झोली कुम्ली बोकेर, टाप कसम।
अम्रीकामा किनेको साडी, तल तल झर्छ
नेपालको हिसाब गर्दा, नब्बे हजार पर्छ।
लाउने खाने उमेरमा, रमाउनलाई पाइएन
चालिसेमा टिकटक आयो, अरू चाहिएन
हल्का टुच्च लाए पछि ,एक पाइलो हिन्दिन
ढोका सम्म लिन आऊ है, बाटो चिन्दिन
समाज बिग्रो घरबार बिग्रो,मोबाइललेगर्दा नि
लाजै मर्नु हुन्छ बरै ,टिकटक हेर्दा नि।
फोन पनि छैन ,म्यासेज पनि नि छैन
मन परेको मान्छेले, किन बोलाउँदैन।
हाइ पनि छैन हेलो नि छैन
मन परेको मान्छेले किन बोलाउँदै
लरक्क लरक्क लर्किने बनारसे साडी
बेलाबेला फर्केर हेरदेउ आँखा मारी
छम्किदेऊ पानी………।
बारुले कम्मर रूप एक नम्बर
सारै राम्री भन्छन् हे कसै कसैले
पोहोर सालकै भैरव सारी पोहोर सालकै चुरा
मत यसै नाच्छु बैनी काटे काट्छन् कुरा
झन् माथि सार्यो, झन् तल झर्छ, है मेरो फरिया
यस्ता आउलान्, जमाना जानिएन
लाहुरे दाइले ,जाम भन्दा मानिएन
गीत, संस्कार र संस्कृति
तीज गीतको उत्पत्ति पौराणिककालमा नै भएको मान्न सकिन्छ। किनभने तीज गीतको उत्पत्तिका बारेमा यसै समयमा, यसै घट्नाबाट यसलेनै भनेर एक्किन गर्न सकिएको अवस्था नभएकोले पौराणिककाललाई नै यसको भारी बोकाइएको हुन सक्छ। त्यसैले पौराणिककाल देखिनै तीज गीतले संस्कृति र संस्कार निर्माण गर्दै आइरहेको देखिन्छ।
उत्पतिकालमा व्यक्तिको अवस्था, परिवारको अवस्था र समाज बनौटको अवस्था कस्तो थियो। त्यै परिबेसमा गीतहरूको उत्पत्ति भएको हो भन्न सकिन्छ। हरेक कुराको सिर्जना विशेष गरी दुःख ,अभाव ,हिंसा र धर्मबाट पनि हुने गर्छ। तत्कालीन समयमा धर्मका कुराहरूले पनि मानिसहरूलाई प्रभाव पारिरहेकोले पनि त्यसै समयमा रचिएका र गाइएका गीतहरूले दुई धारबाट यात्रा गरिरहेको पाइन्छ।
त्यो समय, काल र परिस्थितिबाट आजसम्म को अवस्थामा गीतले यात्रा गरिरहँदा समाजको विकास सँगसँगै गीतको विकास पनि भइरहेको देखिन्छ। हिजो समयले के दियो भन्ने थियो भने आज समयले के माग्यो भन्ने कुराले अर्थ राख्छ। त्यसैले गीतहरूको शब्द गुम्फन र प्रस्तुति ले गीतको बाँन्कीलाई प्रस्ट्याएको बुझ्न सकिन्छ।
हिजोका गीतमा पीडाका आँसु थिए। भक्ति थियो भने आज गीतमा हाँसो ,खुसी र वेदना मिश्रित गीतहरूले स्थान पाएका छन्। किन भने समाज परिवर्तनको क्रममा मानिसको चाहानामा पनि परिर्वत स्वाभाविक हुन्छ। विकासमा हिंसा पनि हुन्छ सम्पन्नता पनि हुन्छ। त्यसै भित्रबाट नै सिर्जनाले आकार प्राप्त गर्ने भएकोले गीतको रूपान्तरण पनि सम्भव भएको हो।
गीतले छलाङ्ग मारेको हो। उल्लेखित गीतहरू तत्कालीन समयमा गाइने प्रतिनिधि गीतहरूमात्र हुन। त्यो समय र यो समयलाई अध्ययन गर्यौ भने भविष्यमा तीजका गीतले कुन बाटो तय गर्छ भनेर अनुमान गर्न सकिन्छ। गीतको रूपान्तरण सँगसँगै संस्कार र संस्कृतिलाई पनि पुस्तान्तरण गर्दै लैजाने क्षमता र भरोसा गीतमा हुनु पर्छ।
र यो पनि…
सामान्य शिक्षा प्राप्त गरेका अविवाहितहरूको सफलता : कमल खनाल