एसिया कपमा बंगलादेशसँग भारत स्तब्ध
कोलम्बो । एसिया कप क्रिकेटको सुपर ४ को अन्तिम खेलमा भारत बंगलादेशसँग ६ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २६५ रन बनाएको थियो भने भारतले यो चुनौतीपूर्ण लक्ष्य पछ्याउन ६ रन टाढा रह्यो । भारतका लागि ओपनर शुभमन गिलको शानदार शतक व्यर्थ गयो भने अन्तमा अक्षर पटेलको लडाईंपूर्ण इनिङ्सले पनि टोलीलाई जित दिलाउन सकेन।
भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे र उनको यो निर्णय सुरुमै सही साबित भयो। किनभने बंगलादेशले ५९ रनको स्कोरमा पहिलो ४ विकेट गुमाएको थियो । तर पाँचौं विकेटका लागि शकिब अल हसन र तौहिद हृदयोयबीच १०१ रनको महत्वपूर्ण साझेदारी भयो । कप्तान शकिब अल हसनले ८० रन बनाए भने उनी बाहेक हरिदोयले ५४ रनको योगदान दिए । अन्तिम ओभरमा नसुम अहमदको ४४ रन, मेहदी हसनको अविजित २९ र तन्जिम हसनको १४ रनको सहयोगमा बंगलादेशले निर्धारित ५० ओभरमा २६५ रनको महत्वपूर्ण स्कोर बनायो। भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए ।
२६६ रनको लक्ष्यको जवाफमा भारतीय टोलीको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरमा शून्य रनमा आउट भएपछि कप्तान रोहित शर्मा प्याभिलियन फर्किए । त्यसपछि तिलक वर्माको डेब्यु पनि राम्रो भएन र उनी पनि ५ रन बनाएर आउट भए । तेस्रो विकेटका लागि केएल राहुल र गिलबीच ५७ रनको महत्वपूर्ण साझेदारी भयो । यस खेलमा राहुलको ब्याटले काम गरेन र उनी पनि १९ रन बनाएर आउट भए । मिडल अर्डरमा इशान किशनले पनि ५ रनको योगदान दिए ।
सूर्यकुमार यादवले पनि एसिया कपमा पहिलो पटक पाएको अवसरको सदुपयोग गर्न सकेनन् र उनको इनिङ्स पनि २६ रनमा सिमित भयो तर अर्को छेउमा उभिएका शुभमन गिलले शतक पूरा गरे । अन्तमा गिल पनि १२१ रनको उत्कृष्ट इनिङ खेलेर आउट भए भने अक्षर पटेल (३४ बल ४२) ले उनलाई जितको नजिक पुर्याए तर ४९ औं ओभरमा उनको विकेट खसेपछि टीम इन्डियाको पराजय पक्का भयो। बंगलादेशले अन्तिम ओभरमा मोहम्मद सामीलाई रनआउट गर्दै एसिया कपको शानदार जित निकालेको छ । यो नतिजाले एसिया कपको फाइनल समिकरणमा भने कुनै परिवर्तन गरेन । एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने छन् ।