विदेशी चलचित्रहरूसँग प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण छ : अध्यक्ष केसी
काठमाडौँ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले विदेशी चलचित्र सँग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित नेपाल चलचित्र कलाकार संघको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित नेपाली चलचित्रको गुणस्तरमा पेसाकर्मीको भूमिका विषयक अन्तरक्रियामा उनले नेपाली चलचित्रलाई विदेशी चलचित्रले थिचोमिचो गरिरहेको अवस्थामा पनि चलचित्र बनाउने क्रम नरोकिएको भन्दै उनले खुसी व्यक्त गरे ।
उनले भने, ‘चलचित्र गुणस्तर हुन सकेन । हाम्रो चलचित्रलाई अहिले पनि विदेशी चलचित्रले थिचोमिचो गरिरहेका छन् । यस्ता धेरै समस्याहरू हामी वर्षौँदेखि झेलिराखेकै छौँ । तै पनि हामी अगाडि बढार्दै निरन्तर घर खेत राखेर चलचित्र बनाउने क्रममा अगाडि बढिरहेका छौँ ।’
उनले आफ्नै देशमा धेरै पैसा लगानी गरेर बनाएका विदेशी चलचित्रहरूसँग प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण रहेको बताए ।
उनले भने ‘विदेशी चलचित्रहरूसँग हिम्मत नहारी धेरै पैसा खर्च गर्ने चलचित्रहरूको अगाडि हामीले थोरै लगानीमा प्रतिस्पर्धा जारी राखी रहेका छौँ । आफ्नै देशमा ठुला ठुला विदेशी चलचित्रहरू प्रतिस्पर्धा सामना गरिरहेका छौँ त्यसैले चुनौती धेरै छन् । ’
त्यस्तै नेपाल चलचित्र कलाकार संघका मोहन निरौलाले स्व.कलाकार सारुक ताम्राकारको मृत्यु प्रकरणमा कलाकार संघ संस्थाले केही गरेन भनेर गाली आउने गरेको भन्दै कलाकार राष्ट्रको पहिचान भएकाले मर्यादित रूपमा बोल्न आग्रह गरे।
उनले भने, ‘कलाकार संघ संस्थाले काम गरेनन् भन्ने कुरा विभिन्न ठाउँमा सुनिन्छ। आवाज उठिरहेको छ । जस्तो सारुकको निधन प्रकरणलाई लिएर पनि आवाज उठेका छन् । तर हामीले बोल्न मिल्ने जति मात्र बोल्न मिल्छ । र यस बिचमा केही गाली गलौजका कुराहरुपनि आएका छन् । तर कलाकार राष्ट्रको पहिचान हो कमसेकम बोल्दा मर्यादित रूपमा बोल्नुपर्छ म अनुरोध गर्दछु । त्यो विषयमा चाँडो अनुसन्धान गर्न आग्रह गर्दछु । ’
उनले देशमा राजनीतिले बाटो नपैल्याएसम्म केही पनि कुरा पहुँचमा पुग्न नसक्ने तर्क गरे ।