बलात्कारको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । कञ्चनपुर र झापाबाट बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कञ्चनपुर, बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरी रहेको छन् । ३५ वर्षीया महिलालाई चौधरीले भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसै गरी झापा, कनकाई नगरपालिका–३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाललाई प्रहरीले पक्राउ गरेको छ ।
२२ वर्षीया महिलालाई विवाह गर्ने आश्वासन देखाई अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।