जनकपुरमा २० लाख भन्दा बढी रकम सहित एक भारतीय युवक पक्राउ
जनकपुरधाम । जनकपुरधाममा एक भारतीयबाट २० लाख रुपैयाँ बरामद गरिएको छ । जनकपुरधाम–४ स्थित सडकमा चेक जाँच गर्दा भारत विहार राज्यको दरभङ्गा थाना सिंहवाला गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साहको साथबाट २० लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनी भारतबाट नेपाली रुपैयाँ पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ओसार पसार गरी ल्याई रहेको विशेष सूचनाको आधारमा मातहतका प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्दा सो रकम बरामद गरिएको छ ।
साहमाथि शङ्का लाग्दा कानुनी रितपूर्वक शरीर तथा बोकेको झोला समेतको खानतलासी गर्दा उनले लगाएको पाइन्टको अगाडीको दाहिने खल्तीबाट ९८०३४५२३५८ नम्बरको सिम कार्ड सहित ओप्पो मोबाइल एक थान र उनले बोकेको कालो रङ्गको झोला भित्रबाट नेपाली रकम एक हजार दलको नोट १८ सय ५० थान र पाँच सय दलको नोट ४ सय थान गरी कुल २० लाख ५० हजार रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बरामद गरिएको रकम सहित साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि आजै भन्सार कार्यालय जनकपुरधाम पठाइएको प्रहरी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।