साथी कप क्रिकेटको उपाधि ह्यारिसबर्ग गोर्खाज पेन्सिल्भेनियालाई
मेरील्याण्ड,अमेरिका / साथी कप क्रिकेटको तेस्रो संस्करणको उपाधि ह्यारिसबर्ग गोर्खाज पेन्सिल्भेनियाले जितेको छ । सोमवार भएको फाइनलमा बोस्टन अलस्टार्सको ब्लु टिमलाई २६ रनले पराजित गर्दै ह्यारिसबर्ग गोर्खाजले उपाधि जितेको हो।
स्कुले मिल पार्कमा भएको फाइनलमा पहिलो ब्याटिङ गरेको ह्यारिसबर्गले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय सात रन बनाएको थियो । प्रतियोगितामा सुरुवातबाट नै राम्रो प्रदर्शन गरेको ह्यारिसबर्गका लागि फाइनलमा संजोक बस्नेत र सुक थिङले समान २३ रन बनाए । यस्तै उदय आचार्यले १६ रन बनाउँदा वासु ढुङ्गानाले ११ रनको योगदान गरे ।
खगिन धिमालले १२ रन जोडे । बलिङमा बोस्टनका लागि आयुस खनाल र निशान्त थापाले दुई दुई विकेट लिए । भेषराज पराजुली, सङ्गीत तामाङ र रञ्जन धिमालको नाउँमा एक एक विकेट रह्यो एक एक विकेट हात पारे । जवाफमा बोस्टन १८ ओभर चार बलमा ८१ रनमा अलआउट भयो ।
उसका मनिष हुमागाईँले २१ रन बनाउँदा बाँकी खेलाडीले दरिलो योगदान गर्न सकेनन् । जसमा रूप गुरुङले १३, अनुज पाठकले १२ तथा अशोक काफ्ले र विजय लामाले समान १० रनको योगदान गरे । बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न असफल भए । बोस्टनलाई कम स्कोरमा रोक्नका लागि ह्यारिसबर्गका वासु ढुङ्गाना र सन्जोग बस्नेतले तीन तीन विकेट लिए ।
वासुले चार ओभरमा एक मेडेनसहित ६ रन दिएर तीन विकेट लिए भने सन्जोकले तीन ओभर चार बलमा १६ रन खर्चिएर तीन विकेट लिए । यस्तै अनिल न्यौपानेले पनि तीन विकेट लिए । उनले तीन ओभरमा २८ रन दिएर सो विकेट लिएका हुन ।
सागर राईले एक विकेट हात पारे । फाइनलको प्लेयर अफ दी म्याच वासु ढुङ्गाना बने । उपाधिसँगै ह्यारिसबर्गले पाँच हजार अमेरिकी डलर पनि पाएको छ । यस्तै दोस्रो भएको बोस्टनले तीन हजार डलर पाएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।