एनआरएनएको नागरिकता प्राप्तिमा कुनै अप्ठेरो हुँदैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको सवालमा सरकारले कुनै अप्ठेरो सिर्जना नगर्ने बताएका छन् ।
एनआरएनएका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अध्यक्ष कुल आचार्यसहितको टोलीसँग प्रधानमन्त्रीको सरकारी निवासमा भेट गर्दै प्रचण्डले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको भन्दै केही अप्ठ्यारो देखिए सुल्झाउँदै अघि बढ्ने बताए ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डलाई कार्यकारी अध्यक्ष डा. केसीले आसन्न ११ औं विश्व सम्मेलन तथा महाधिवेशनका विषयमा भइरहेका प्रगती जानकारी गराउँदै समारोहमा उपस्थित हुनका लागि निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए ।
निमन्त्रणाको सन्दर्भमा प्रधानमन्त्री दाहालले विश्व सम्मेलनको सफल आयोजनाका लागि शुभकामना दिँदै आफू पनि उपस्थित हुने प्रतिबद्धता जनाएका थिए ।
अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको बाटो खुलिसकेको र नियमावली निर्माणको चरणमा रहेकोले त्यसलाई सहज र एनआरएनमैत्री बनाउन प्रधानमन्त्री तहबाटै पहलकदमी लिइदिन अनुरोध गरेका थिए ।
यस्तै संघका उपाध्यक्ष आर के शर्माले इराक र कुवेतमा पासपोर्ट नवीकरण लगायत नेपालीहरुले व्यहोर्नुपरेको अन्य समस्या सम्बोधनका लागि कुटनीतिक पहलका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए । प्रधानमन्त्री दाहालले त्यसका लागि पछिल्लो अवस्था मूल्यांकन गरी कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
फरक प्रसंगमा प्रधानमन्त्री दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा गैरआवासीय नेपाली संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा उक्त योजनालाई अझ बृहत रुपमा अघि बढाउन आग्रह गरेका थिए ।
भेटका क्रममा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र डी.बी क्षेत्री, महासचिव केशव पौडेल, एनसीसी पूर्व मानार्थ परिषद् सदस्य, सनी वली, पूर्व सल्लाहकार सुरेन्द्र श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको थियो ।