एनआरएनएको विश्व सम्मेलन र अधिवेशनका लागि सरकारसँग सहयोग माग
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनले आसन्न ११ औं विश्व सम्मेलन तथा महाधिवेशनका बारेमा सरकारलाई जानकारी गराएका छन् ।
संघका प्रतिनिधिहरुले आज नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेरेर एनआरएनएको अक्टोबर १७ देखि २० तारिखसम्म हुने ११ औँ महाधिवेशन र गैरआवासीय नेपाली विश्व सम्मेलनका बारेमा जानकारी गराउँदै सहकार्यका लागि अनुरोध गरेका थिए ।
संघका कार्यकारी अध्यक्ष डा बद्री के. सी. र अध्यक्ष कुल आचार्यसहितको टोलीले संघले गैरआवासीय नेपाली विश्व सम्मेलन तथा संघको अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीको बारेमा जानकारी गराएका थिए ।
संघका कार्यकारी अध्यक्ष बद्री केसीले सम्मेलनका लागि उच्चस्तरीय समितिको गठन गरी यथाशक्य छिटो सम्मेलन सम्बन्धी काम अघि बढाउन सहजीकरण गर्न मन्त्री साउदलाई आग्रह गरेका थिए ।
जवाफमा मन्त्री साउदले विगतको परम्परालाई सरकारले अघि बढाउने र गैरआवासीय नेपाली विश्व सम्मेलनको लागि छिट्टै उच्चस्तरीय समितिको गठन गर्ने प्रतिबद्धता जनाए ।
भेटमा गैरआवासीय नेपाली संघको तर्फबाट कार्यकारी अध्यक्ष डा. बद्री के.सी., अध्यक्ष कुल आचार्य, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव डा. केशव पौडेल, प्रवक्ता सोम प्रसाद सापकोटा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाईल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, सहायक निर्देशक बन्दना शर्मा, अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।
मन्त्रालयका तर्फबाट मन्त्री साउदसहित, नीति योजना, विकास, कुटनीति तथा विदेशमा बस्ने नेपाली सम्बन्धि महाशाखाका प्रमुख रिता धिताल तथा अधिकृत बिष्णु अधिकारीको उपस्थिति रहेको थियो ।