संस्थापन पक्ष प्रति आक्रामक हुँदै एनआरएनए आइसीसी महासचिवमा बुद्धि सुवेदीको उम्मेदवारी घोषणा
पेन्सिलभेनिया,अमेरिका/ संस्थापन पक्ष प्रति आक्रामक हुँदै गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को महासचिवमा बुद्धि सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा लागि भर्चुअल मार्फत शनिवार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदी संस्थापन प्रति आक्रामक भएका हुन्।
‘गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीका नाममा लामो समयदेखि शासकको शैलीमा केही पदाधिकारी र जिम्मेवार व्यक्तिबाट गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदहरुमाथि विभेदकारी र ज्यादतीपूर्ण रूपमा भइरहेको अत्याचारपूर्ण व्यवहार हामीले भोगेका र अनुभव गरेका छौँ ।’ लिखित विज्ञप्ति वाचन गर्ने क्रममा सुवेदीले भने।
उनले एनसीसी माथि आइसीसीले अनावश्यक हस्तक्षेप गरेको समेत आरोप लगाए। सुवेदीले आफू विजयी भएमा डेलिगेट प्रथा हराउने पनि बाचा गरे।
उनले साथीहरूको ऊर्जा नै चुनाव जित्ने आधार भएको बताए। वर्तमान महासचिवमा गौरी जोशीले पुन सोही पदमा दोहोर्याउने घोषणा गरिरहेको बेला तपाईको जित्ने आधार के हो भन्ने प्रश्नमा सुवेदीको जवाफ थियो,’मेरो कामको मूल्याङ्कन साथीहरूले गर्नु हुने छ, अहिले नै महिला सयौँ साथीहरूको म्यासेज आइरहेको, साथीहरूको ऊर्जा नै मेरो चुनाव जित्ने आधार हो।’
उनले एनआरएनएको नाममा निजी व्यवसायमा फाइदा नलिएको पनि बताए।
पत्रकार सम्मेलनमा सुवेदीको पक्षमा तीन दर्जन बढीले शुभ कामना दिएका थिए।
सुवेदीको प्रेस विज्ञप्तिको पूर्णपाठ
गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीका नाममा लामो समयदेखि शासकको शैलीमा केही पदाधिकारी र जिम्मेवार व्यक्तिबाट गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदहरुमाथि विभेदकारी र ज्यादतीपूर्ण रूपमा भइरहेको अत्यचारपूर्ण व्यवहार हामीले भोगेका र अनुभव गरेका छौँ ।
सम्बन्धित देशमा दर्ता गरेर विधि विधानसम्मत ढङ्गले अगाडि बढेका, नीति नियमको अधीनमा रहेर संस्थाको उद्देश्य साथै स्थापनाको मर्म अनुरूप काम गर्ने एनसीसीहरुमा अनेक बहानामा हस्तक्षेप गर्ने र सम्बन्धन खारेज गरिदिने भनी पटक पटक दिइएका धम्की खेदजनक छन् । विधि, विधान र प्रक्रियामा अगाडि बढेकालाई दुख दिने र आफ्नो इसारामा चल्नेलाई मात्रै सबै छुट दिने विभेदकारी चरित्र भएकाहरूको दबदबा संस्थाभित्र कायम नै देखिएको छ ।
संस्थालाई निजी क्लब जस्तो बनाउन गरिएका अनेकौँ हर्कतले गर्दा अहिले संस्थाभित्र राजनीतिक र बाह्य हस्तक्षेप छिरेको छ । आम सदस्यहरूमा संस्था माथिको विश्वास घट्दो र नकारात्मक छवि बढ्दो छ । संस्थाको विकास र विस्तारका लागि वाधक भएको छ । एनसीसीहरुमाथि हस्तक्षेप होइन, तिनलाई अधिकार सम्पन्न बनाएर आम सदस्यहरूको चासो र सरोकारलाई संवोधन गर्न सक्ने बनाउनु पर्छ भन्ने मेरो धारणा छ ।
यसका लागि :
क) एनसीसीहरुले आफ्नो विधान, परिधि र परिस्थिति अनुरूप हस्तक्षेप र अवरोध विना स्वतन्त्रतापूर्वक काम, निर्वाचन र प्रतिनिधि चयन गर्न पाउनु पर्छ । एमआइएस सिस्टमका नाममा सदस्यहरूको व्यक्तिगत विवरण असुरक्षित हुने र आइसीसीसँगको सम्बन्धनका नाममा सम्बन्धित देशको कानुन बाहिर गएर काम गर्नु पर्ने बाध्यताको अन्त गर्नु पर्छ । व्यवस्थित र पारदर्शी गर्न सर्वस्वीकार्य विधि र प्रक्रिया अवलम्बन गर्नु पर्छ ।
ख) एनसीसीको सदस्यसम्म नभएका कतिपय आफ्नो प्रभावका ब्यक्तिहरुलाई आइसीसीका विभिन्न समिति उपसमितिमा ल्याउने र एनसीसीहरुले उनीहरूलाई प्रतिनिधि बनाउन वाध्य गराउने निर्लज्ज र चरम हस्तक्षेपकारी काम विगतमा भएका छन् । आफै प्रतिनिधि छानेर आफै स्वघोषित पदाधिकारी निर्वाचित हुने वा बनिरहने अप्रजातान्त्रिक चरित्र आइसीसीमा हावी छ । यसलाई रोक्न एनसीसी र आइसीसीको निर्वाचन सँगै र सबै पञ्जीकृत सदस्यहरूबाट हुने व्यवस्था गर्नु जरुरी छ ।
ग) आइसीसीको सञ्चालनको प्रमुख श्रोतको रूपमा रहेको सदस्यता शुल्क प्रशासनिक खर्चमा धेरै प्रयोग गरिनु हुन्न । आइसीसीका अधिकांश पदाधिकारी र सदस्यहरूले आफ्नो पदीय जिम्मेवारी आफैले निर्वाह गर्ने परिपाटीको थालनी गरी आवश्यक मात्र कर्मचारी राखेर काम गर्नु जरुरी छ ।
घ) नेपाली नागरिकता लिइसकेका सबैको नागरिकता कायम राख्दै देश बाहिर जन्मिएका केटाकेटीलाई मात्र गैर आवासीय नेपाली नागरिकता दिलाउन संविधानमा नै परिवर्तन गर्न आइसीसीले विशेष पहल गर्नु पर्छ ।
ड) दुई देशबीच दोहोरो कर प्रणाली अन्त्य गर्नका लागी ठोस रुपमा काम अगाडि बढाउन नेपाल सरकारलाई सल्लाह, सुझाव र दबाब दिनु जरुरी छ । यसबाट नेपालमा विदेशी र गैर आवासीय नेपालीको लगानी आकर्षित गर्न सहयोग पुग्छ ।
च) देश बाहिर नेपाली र नेपाली मूलका विज्ञहरु विश्वका प्रतिष्ठित कम्पनी, विश्वविद्यालय, अनुसन्धानको क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहॅाहरुको ज्ञान सिप र पूँजीलाई नेपाली र नेपालको विकास र समृद्धिमा जोड्न विज्ञ भेलामा छलफल र प्रस्तुति भइरहेको छ । कागजी प्रयासलाई अव ठोस रुपमा कसरी कार्यान्वयन गर्ने भनेर केही उदाहरणीय कामको थालनी गर्नु पर्छ ।
छ) मलेसिया, मध्यपूर्व लगायतका कतिपय देशमा गएर काम गरिरहनु भएका नेपालीहरुको रोजगारी, स्वास्थ्य र जीवन सुरक्षामा चुनौति रहेको छ । यसका लागि सामाजिक सुरक्षा कोषको स्थापना र उचित संयन्त्र बनाएर काम थाल्नु पर्छ ।
माथि उल्लेखित एजेन्डाहरु कार्यान्वयन गर्न, संघको केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउन, एनसीसीहरु माथिको अनावश्यक हस्तक्षेप रोक्न, संसारभरि रहनु भएका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न मैले उम्मेदवारी दिएको हुं।
साथीहरु, एनआरएनए एनसीसी अमेरिकाको निर्वाचित अध्यक्षको रुपमा थुप्रै चुनौतीहरु हुँदाहुँदै पनि हामीले गरेको काम तपाईंहरु सामु स्पष्ट छ। नेपालमा साँढे तीन करोड बराबरका औषधि लगायतका सामग्रीहरु पठाउने, आफ्नै कार्यालय स्थापना गर्ने, अमेरिका निवासी नेपाली समुदायको हितका लागि कैयौं काम गर्नुका साथै एनआरएनएले शुरु गरेको मोबाइल बस ब्लड बैंक लगायतका परियोजनालाई पनि हामीले सक्दो सहयोग ग-यौं।
यी कार्यहरु सम्पन्न गर्न मलाई अमेरिकामा रहनु भएका साथीहरुको सक्रिय सहयोग र संसारभरि रहनु भएका साथीहरुको सद्भावलाई आफ्नो सम्पत्ति ठानेर मैले तपाईंहरु संगै सरसल्लाह गरी आगामी २०२३-२५ कार्यकालका लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।
मैले आफ्नो घोषणा पत्र छिट्टै सार्वजनिक गर्ने छु। विगत मा झैँ आगामी दिनमा पनि मैले तपाईंहरु सबैको साथ, सहयोग र मायाको अपेक्षा गरेको छु। धन्यवाद !
बुद्धि सागर सुवेदी
निवर्तमान अध्यक्ष,
तथा २०२३-२५ का लागि एनआरएनए आइसीसीको महासचिव पदका उम्मेदवार
मिति: १२ अगष्ट २०२३