ठूलो मात्रामा सुन बरामद
काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरिसकेको झण्डै एक क्वीन्टल सुन बरामद गरेको छ ।
राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बरामद गरेको हो ।
हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बाट समेत जाँच पार गरेर सिनामंगल सडकसम्म पु¥याइएको करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको छ । मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानबाट आठवटा कार्टुन बक्सामा १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख रहेको जनाइएको छ ।
सुनसँगै रेडी ट्रेडर्स प्रालिका सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राईसहित रामकुमार भुजेल, हर्क राई, अशोक लामासहितलाई विभागले पक्राउ गरेको छ । नेपालमा एकै पटक यति धेरै सुन पहिलो पटक बरामद भएको हो । यसअघि २०७४ भदौमा ८८ केजी सुनसहितको गाडी काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ परेको थियो ।