गठेमंगल मनाउदै नेवार समुदाय
काठमाडौं । नेवार समुदायले शनिबार गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाएका छन् । नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात रोपाइँ सकिएको पर्वको रूपमा मनाउने यो पर्व हरेक वर्ष साउन शुक्ल चतुर्दशीका दिन नेवार मनाउने परम्परा छ ।
यो पर्वमा नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएको छ ।
साँझ परेपछि भुतप्रेत पन्छाउनका लागि नर्कटलाई छवाली, सिस्नो , नांगलो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राखिन्छ ।
नेवार समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिने परम्परा छ ।
काठमाडौंका नरेश महर्जनले भूतको प्रतिकलाई दही चिउरा खुवाएर टुकुचामा लगेर विर्सजन गर्ने परम्परा रहेको सुनाए । उनले भने ‘गठेमंगल हुँदै छ । आजको दिनमा हामीले घर घरमा लगेर यसलाई गठेमंगलको बोल्न लगाएर ओम शान्ती गछौं । देशको शान्तीको लागि कामना गछौं । भूतको प्रतिक गठेलाई दही चिउरा खुवाएर आगो बालेर टुकुचासम्म लगेर विर्सजन गछौं । यसलाई भूत पन्छाउने पनि भनिन्छ । भूत जावस भनेर ।’
अर्का स्थानीय राजन महर्जनले अन्य समुदायले साउनको एक गते लुते फाल्ने भनेजस्तै नेवार समुदायमा भूत मन्छाउने परम्परा रहेको बताए । ‘यो साउन महिनाको शिवरात्री हो । यसलाई घण्टाकर्ण पनि भनिन्छ । आज महादेव नेपाल भेगमा घुम्न आएको समयमा नचिनेर बच्चाहरु डराए भनेर बाँधेर राखिएको थियो । साउन १ गते लुतो फाल्ने भनेजस्तै आज चर्तुदशीमा हाम्रो भूत पंछाउने भनेर घर घरबाट आवश्यक सामान पाला , चिउराको धुलो, रक्ती ,फोक्सो आन्द्रा ल्याएर चौबाटेमा राखेर भूत मन्छाउने गर्दछौं ।’ उनले भने ‘दही चिउरा खुवाएपछि आगो लगाएर टुकुचा खोलामा लगेर फालेपछि भूत पन्छिन्छ । घर घरमा किला ठोक्ने पनि गरिन्छ । यो परापूर्वकालदेखि चल्दै आएको छ । नेवारहरुको लागि दशै जस्तै महान चाड हो ।’