सीता दाहाल : न मुलुकको राजनीतिमा हस्तक्षेप, न पार्टीको कुनै अंगमा उपस्थिति
काठमाडौं । नेपालको दशवर्षे शसस्त्र द्वन्द्वकालमा पुष्प कमल दाहाल प्रचण्ड नाम आम नागरिकका लागि त्रासदी, कौतुहलता र सम्भावनाको एउटा ठूलो भूमरी थियो । पत्रपत्रिकामा आएका केही तस्वीर र त्यसमा राखिएको दारी जुँगासहितको मान्छेबारे मानिसहरुका मनमा धेरै खाले भावावेग उत्पन्न हुनु स्वाभाविक थियो ।
उनको परिवार र श्रीमतीको विषयमा समेत मानिसहरुले विभिन्न खाले अनुमान र आंकलन गर्थे । तर २०६३ असार २ गते तीनै पुष्पकमल दाहाल प्रचण्डसँगै बालुवाटार छिरेपछि सीता दाहाल अर्थात् प्रचण्ड पत्नी सीताबारे आम नागरिकको संसय र कौतुहलता पनि औपचारिक रुपमा सकिएको थियो । निक्कै उत्तार चढावपूर्ण जीवन विताएकी उनी सीता दाहालले आज (बुधबार) बिहान ८ः३३ बजे यस धर्तीबाट संधैका लागि बिदा लिएकी छिन् । वालुवाटार बस्दा न उनले राजनीतिमा हस्तक्षेप गरेको सुनियो न पार्टीको कुनै पनि अंगमा उनले आफ्नो उपस्थिति देखाइन । वस परिवारका लागि सबैथोक गरेर दुःखको भारी विसाउँदै विदा लिइन् ।
को हुन् सीता ?
सीता दाहालको जन्म ६९ वर्षअघि (२०११ साल असार २१ गते) कास्कीको हेम्जामा आमा हरिकला र बुवा महेश्वर पौडेलको कोखबाट भएको थियो । सामान्य मध्यम किसान परिवारमा जन्मेकी सीताको २०२६ सालमा तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसका पुष्पकमल दाहालसँग विवाह भएको थियो । कक्षा १० मा पढ्दै गर्दा सीता दाहाल परिवारमा बुहारी बन्न पुगेकी थिइन् ।
विवाह भएको केही समयमा नै दाहाल काठमाडौं पढ्न गए । केही समयमा नै छोरी जन्मेपछि उनका लागि छोरी साथी भइन् । कान्छी छोरी जन्मेको वर्ष पुष्पकमल दाहाल कम्युनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बने । पुष्पकमल दाहाल पार्टीको पूर्णकालीन सदस्य भएर घर छाड्नु अघि नै सीताले पनि २०२८ सालमै कम्युनिष्ट पार्टीको सदस्यता लिएकी थिइन् । पुष्पकमल दाहाल पार्टीको पूर्णकालीन सदस्य भएपछि पिता मुक्तिराम दाहालले उनीहरुलाई छुट्याइदिए । घरबाट छुट्टिएको दुई वर्षमा नै आफ्ना लालाबालासहित प्रचण्डले सीतालाई भरतपुर सारे ।
राजनीतिमा सीता
पारिवारिक जिम्मेवारीसहित पार्टी राजनीतिमा चासो राखेकी सीता जिल्ला, क्षेत्र र केन्द्रको विभिन्न तहमा बसेर पार्टी राजनीतिमा सक्रिय रहेकी थिइन् । तत्कालीन माओवादीले २०५२ सालमा हिंसात्मक आन्दोलन सुरु गरेपछि त्यसमा पनि सीताको सक्रिय सहभागिता रहेको थियो । सीता कहिले पुष्पकमललाई आफ्नो सल ओढाएर भारतीय प्रहरीलाई छक्काइन् भने कहिले हप्काएर जहाँ पायो, त्यहीँ जाने कुरामा सावधान गराएर जनयुद्धका सुप्रिम कमाण्डरको ढाल बनिन् ।२०६० सालमा पहिला पुष्पकमल रोल्पा जाने र पछिमात्र सीता मुम्वईबाट रोल्पा जाने योजनाले उनीहरू फेरि छुट्टिन पुगे ।
दुई वर्षे रोल्पा बसाइपछि दाहाल दम्पत्ति कुनै बेलाका ज्यानी दुश्मन नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला सहितका नेताहरुसँग १२ बुँदे सहमति गरेर राजतन्त्रको अन्त्य गर्ने प्रयोजनका लागि दिल्ली पुगे । २०६२ मंसिरमा माओवादी र सात दलबीच १२ बुँदे समझदारी भयो । त्यसकै बलमा राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्धको आन्दोलन सफल भयो ।
गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार गठन भयो । तत्कालीन नेपाल सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौला नै विद्रोही सुप्रिम कमाण्डर दम्पत्तिका सवारी मन्त्री बनेर २०६३ असार २ गते पुष्पकमल दाहालसँगै सीता बालुवाटार छिरिन् । त्यसको डेढ वर्ष नपुग्दै सीता देशको प्रथम महिला बन्न सफल भइन् ।
पीडा र विगोग
सीताले प्रथम महिला बनेकै बेला सबैभन्दा बढी राजनीतिक र पारिवारिक तनाब झेल्न बाध्य हुनु पर्यो । बालुवाटारबाट मुक्त भएर निजी निवासमा फर्केको केही सममयपछि छोरी ज्ञानुको निधन भयो । सीता दाहालको साढे ६ दशक लामो चालु जीवनमा ज्ञानु छोरी गुमाउने पीडासँगै गम्भीर विमारले छोएको कसैलाई पनि पत्तै भएन । त्यसमाथि २०७३ मा दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि सीताको मनमा चैन थिएन । त्यही बेलामा २०७४ मंसिरमा छोरा प्रकाशको निधनले उनलाई थप बेचैन बनायो ।
३ छोरी र १ छोराकी आमा सीता ४ भाइ र २ दिदीबहिनी मध्येकी सीता श्रीमान् पुष्पकमल दाहालतर्फका ६ नन्द र २ भाइहरुको परिवारकी सदस्य बनेर निकै ठूलो नाता सम्वन्धको जालोमा सत्चरित्र र सत्यका पक्षमा सतीसाल जस्तै खडा भएकी थिइन् ।
अन्तत: महाप्रस्थान
सीतालाई पार्किन्सस्ले गाल्दै लगेको अवस्था झन बल्झँदै गयो । चुनावकै बीचमा र चुनावपछि दाहाल परिवारले सीता दाहालको उपचारका लागि सम्भव सबै उपाय गर्यो । तर त्यो रोगको प्रकृति नै यस्तो थियो कि जहाँ पुगेको छ, त्यहीँ रोक्न बाहेक अरु केही गर्न सकिंदैन्थ्यो ।
सीताको उपचारका लागि नेपालका अस्पतालदेखि, भारत, सिंगापुर र अमेरिका समेत पुर्याएर परीक्षण गराइयो । तर रोगको खासै निदान भएन । बरु उनलाई थप गाल्दै लग्यो । उनै सीताले आज (बुधबार) बिहान ८ः३३ बजे यस धर्तीबाट संधैका लागि बिदा लिएकी छन् ।