विदेशी विनिमय सञ्चिति बढ्यो, एक महिनामा थपियो साढे १० अर्ब रुपैयाँ
काठमाडौं । नेपालमा पछिल्लो पटक विदेशी विनिमयको सञ्चिति बढेर गएको छ । एक महिनाको अवधिमा साढे १० अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थप हुँदा विदेशी विनिमय सञ्चिति झन्डै १५ खर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको वित्तीय रिपोर्टमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले’ नेपालमा जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको देखाएको छ । वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।
गत असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । त्यसयता सञ्चितिमा सुधार आई २१.८ प्रतिशतमा पुगेको छ । गत असारमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिलेको (जेठसम्मको) विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । विदेशी मुद्रा सञ्चितिको यो अवस्थाले बाह्य क्षेत्रमा विस्तारै सुधार हुँदै गएको देखिएको छ ।
एघार महिनामा नेपाल भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स
विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष -आव २०७९/८० को ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार, जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो ।
त्यस्तै,यो आवको जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५९ हजार ४ सय १५ जना पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या ४६.६ प्रतिशतले बढेको हो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ०.५ प्रतिशत रहेको संख्या बढेर अहिले २ लाख ६० हजार २६२ जना पुगेको छ ।
आर्थिक अवस्थामा सुधार आएसँगै महंगी घट्यो
नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको आर्थिक तथा वित्तीय विवरणले देशको आर्थिक स्थितिमा सुधार आए संगै महंगी घटेको देखाएको छ ।
सोमवार राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ को रिपोर्टअनुसार, चालु आवको जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.७३ प्रतिशतले घटेको छ । यो मुद्रास्फीति दर गत वर्षको सोही अवधिको तुलनामा महँगी घटेको हो ।
जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेकोमा अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो ।
तथ्यांक अघिल्लो आवको तुलनामा १.७३ प्रतिशत कम हो ।
जसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।
यस्तै, खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.२९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशतले बढेको छ । तर,घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको छ ।
उक्त विवरणले समीक्षा महिनाको यो अवधिमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३, पहाडमा ६.२८ र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ ।