देशको सर्वोच्च सार्वभौम संस्था संसदको आफ्नै भवन नहुनु नमिठो कुरा : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् ।
उक्त अवलोकनमा उनले संसदको हिउँदे अधिवेशन यही गर्न सकिने उद्देश्यका साथ निमार्णको कार्य अघि बढाएको बताए ।
उनले प्रतिनिधि संस्थाको आफ्नै भवन नहुनु सबैको लागि नमिठो विषय भएको भन्दै सिंहदरबारभित्र संसद भवनको निमार्ण सबै हिसाबले उचित भएको बताए ।
उनले भने, देशको एक मात्र सर्वोच्च सार्वभौम संस्था, प्रतिनिधि संस्थाको आफ्नै भवन नहुनु, भाडामा बस्नु पर्ने अवस्था हुनु, यो एउटा नमिठो कुरा थियो । सिंहदरबारभित्र स्थानको हिसाबले, संसद सचिवालयको सबै र सरकारका सबै संस्थाको हिसाबले राम्रो स्थान हो । यसलाई तीव्र गतिमा काम गरेर सकेसम्म हिउँदे अधिवेशन संसदको यही गर्न सकियोस् । मिसन भने पनि उद्देश्य भनेपनि त्यो छ र अहिले जुन गतिमा काम भएको छ । ’
प्रधानमन्त्रीले सुविधासम्पन्न आफ्नै भवन बन्नु देशकै लागि गौरवको विषय भएको भन्दै यसको निमार्णमा कुनै प्रकारको सम्झौता नगर्न आग्रह पनि गरेका छन् ।
उनले सरकारको तर्फबाट केही सहयोग आवश्यक परेमा प्रधानमन्त्रीको हैसियतले सबै सहयोग गर्न तयार भएको प्रतिवद्धता पनि गरेका छन् ।
उनले भने, सुविधासम्पन्न आफ्नै भवन बन्दै छ, यो देशकै लागि गौरवको कुरा हो । यसकारण यसको निमार्णमा कहि कतै सम्झौता नगरौं र कामलाई तीव्रताका साथ सम्पन्न गरौं । मैले सरकारका तर्फबाट केही सहयोग आवश्यक परेमा प्रधानमन्त्रीको हैसियतले सबै सहयोग हुन्छ । ’