प्रदीप श्रेष्ठको अध्यक्षतामा ग्रेटर न्यु योर्क नेपाली चेम्बर अफ कमर्स स्थापना
न्यु योर्क / प्रदीप श्रेष्ठको अध्यक्षता अमेरिकाको न्यु योर्क आसपासमा रहेका नेपाली व्यावसायीहरुले ग्रेटर ‘न्यु योर्क नेपाली चेम्बर अफ कमर्स’ स्थापना गरेका छन्।
नेपालबाट अमेरिका आएर न्यु योर्क, न्यु जर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्दै आएका व्यवसायीहरूको हकहितका लागि संस्था स्थापना गरिएको जनाइएको छ।
स्टेट डिपार्टमेन्ट साथै न्यु योर्क राज्यले जारी गर्ने व्यवसायीक सूचना र सुविधाहरू नेपाली व्यवसायीहरूले पनि प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले समन्वयकारी भूमिका खेल्नको लागी चेम्बर अफ कमर्स स्थापना गरिएको जनाइएको छ।
कमर्सका अध्यक्ष श्रेष्ठका अनुसार गत वर्षको दसैँ तिहारको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदान-प्रदान कार्यक्रममा छलफल गरी प्रस्ताव गरिए अनुसार हाल संस्था दर्ता गरिएको हो।
व्यवसायी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
अन्य सदस्यहरूमा नवीन क्षेत्री , लेलिन् कँडेल , अमित प्रताप शाह , छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अञ्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवी गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन् ।
यसै गरी ६ सदस्यीय सल्लाहकार समिति पनि बनाइएको छ। सल्लाहकारहरूमा खगेन्द्र जिसी, डा विनोद शाह, नवीन शेरचन, नवराज के सी , पासाङ नुरु शेर्पा र जङ्ग ब बम छन् ।
तदर्थ समितिले तीन महिना भित्र सदस्यता वितरण गरेर अधिवेशन गर्ने अधिकार पाएको छ।
अध्यक्ष श्रेष्ठका अनुसार आइआरएसबाट इआइएन लिएर व्यवसाय सञ्चालन गरी रहेका व्यवसायीहरूले सदस्यता लिन सक्ने छन्।
संस्थाको बैङ्किङ कारोबारको लागी नेपालीहरूद्वारा प्रवर्द्धन गरिएको एभरेस्ट फेडेरल क्रेडिट युनियनमा बैक खाता खोलिएको छ ।
‘न्यु योर्क आसपास व्यवसाय सञ्चालन गरिरहनु भएका व्यवसायी साथीहरूलाई सदस्यता लिई दिनु हुन अनुरोध गर्दछु।’ श्रेष्ठले भने,’सदस्यता लिनको लागी संस्थाकै वेबसाइट बाट सदस्यता लिन सकिन्छ।’
श्रेष्ठका अनुसार हाललाई सदस्यता शुल्क दुई सय ५० अमेरिकी डलर राखिएको छ।
सदस्यता लिन को लागी यहाँ लिङ्कमा क्लिक गरेर फर्म भर्न सक्नु हुनेछ ।




















