मौद्रिक नीतिमा राष्ट्र बैङ्कलाई दबाबमा राख्न निजी क्षेत्र एक हुन्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको सम्बन्धमा राष्ट्र बैङ्कलाई दबाबमा राख्न निजी क्षेत्र एक हुने बताएका छन् ।
बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घ,नेपाल चेम्बर आफ कमर्स तथा नेपाल उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गरेको मौद्रिक नीति अन्तरक्रिया कार्यक्रममा उनले मौद्रिक नीतिमा निजी संघ एक भएर उभिने बताए ।
अध्यक्ष ढकालले भने, ‘हामीले राष्ट्र बैङ्कलाई विभिन्न समयमा सुझाव दिँदै आएका छौँ यो हाम्रो पहिलो सुरुवात होइन। म साथीहरूलाई भन्न चाहन्छु,आउने दिनमा चाहे मौद्रिक नीतिको कुरा होस् वा बजेटमा सुझाव दिने कुरामा किन नहोस् हामी एउटै हिसाबमा,एउटै आवाजमा राष्ट्र बैङ्कलाई दबाबमा राख्न चेम्बर, सिए नआई र एफएनसीसीआई अगाडि बढ्नेछ ।’
राष्ट्र बैङ्कले वर्किङ क्यापिटल गाइडलाइन बैङ्कहरूलाई नै नियमन गर्न दिनु पर्ने धारणा राखेका ढकालले मौद्रिक नीति, बजेट लगायतका विभिन्न कुरामा राष्ट्र बैङ्कलाई तीनै, संघ एकीकृत भएर आवश्यक सहयोग गर्न तयार रहेको पनि उल्लेख गरे ।