बेरोजगारको सङ्ख्या तीन लाखमा झार्ने सरकारको लक्ष्य
काठमाडौँ । सरकारले आगामी ६ वर्षभित्र नेपालमा बेरोजगारको सङ्ख्या घटाएर एकल अङ्कमा झार्ने लक्ष्य घोषणा गरेको छ ।
सार्वजनिक र निजी क्षेत्रमा रोजगारी विस्तार तथा सीपमूलक तालिमको विस्तार गरी योजना आयोगले नेपालको बेरोजगारी सङ्ख्यालाई नौ लाखबाट घटाएर आगामी ६ वर्षभित्र तीन लाखमा सीमित राख्ने लक्ष्य सार्वजनिक गरेका हो । आयोगले मुलुकभित्रै रोजगारी सिर्जना गरी बेरोजगारीको सङ्ख्या कम गर्ने लक्ष्य राखेको हो ।
आयोगका सदस्य डाक्टर रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संसाधन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर सो माथि छलफल अघि बढाएको छ ।
देश विकासको लागि मानव संसाधन विकासको महत्वलाई आत्मसाथ गर्दै राष्ट्रिय योजना आयोगले समग्र मानव संसाधन विकास योजना तर्जुमा गर्ने कार्यलाई अगाडि बढाउन कार्य सर्त तोकेर परामर्शदातालाई मस्यौदा प्रतिवेदन तयार गर्न लगाएको थियो । जसका लागि १४ ओटा कार्यक्षेत्रमा रहेर उक्त प्रतिवेदन तयार गर्न सुझाव सङ्कलन गरिएको थियो ।
आज गरिएको प्रतिवेदनको अन्तिम मस्यौदा प्रस्तुतीकरणमा मस्यौदा प्रतिवेदनमा नेपालको विद्यमान मानव संसाधनको अवस्था, रोजगारी र बेरोजगारीको अवस्था २०८६ सालसम्म सृजना हुने सम्भाव्य रोजगारीको प्रक्षेपणसहितको विवरण समावेश गरिएको छ ।
आयोगले पौडेलको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै विश्वविद्यालय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, निजी क्षेत्रका विद्यालयलगायतका प्रतिनिधि सदस्य रहने गरी निर्देशक समिति गठन गरेको थियो ।
अन्तिम प्रतिवेदन प्राप्त भएपछि यसको कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगले आवश्यक समन्वय गर्ने समितिका संयोजक डा.पौडेलले जानकारी दिए ।