अर्थतन्त्र अझै समस्या मुक्त भई सकेको छैन : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भई नसकेको बताएका छन् ।
मङ्गलवार संसद्को अर्थ समितिमा बोल्दै डा. महतले आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने सङ्केतहरू देखिन थालेको बताएका हुन् ।
‘अहिलेको अर्थतन्त्रको समग्र बाटो सकारात्मक तर्फ लागेको छ । समस्या मुक्त भने छैन । कुनै पनि अर्थतन्त्र कुनै पनि देश समस्या मुक्त हुँदैन । हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौँ । यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौँ ।’
उनले आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै भएको र यसलाई सुधार गरेर लैजानु पर्ने बताएका छन् ।
हाम्रो क्षमताभन्दा पनि बढी हामीले सामाजिक सुरक्षामा खर्च गरेको उनको भनाई छ ।
उनले पछाडि परेको समुदाय, ज्येष्ठ नागरिकलगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिने र यसबाट सरकार पछाडि फर्किन नसक्ने बताए ।