राष्ट्र बैङ्कले दोहोरो मौद्रिक नीति लिन जरुरी छ : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाले राष्ट्र बैङ्कले खुकुलो र लचिलो खालको दोहोरो मौद्रिक नीति लिनुपर्ने बताएका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित ‘मौद्रिक नीति सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै उनले राष्ट्र बैङ्कले प्रतिकूल आर्थिक अवस्थामा सुधार नहुँदा सम्मका लागि सिडी रेसियो, एसएलआरलगायतका मौद्रिक उपकरणहरूमा लचकता अपनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘अर्थ व्यवस्थालाई मन्दीबाट बाहिर ल्याउनको लागि राष्ट्र बैङ्कले दोहोरो, प्रकृतिको मौद्रिक नीति लिनुपर्ने परिसंघको धारणा छ । मूल्य वृद्धि नियन्त्रण गर्न सङ्कुचित मौद्रिक नीति आवश्यक छ भने,समग्र माग विस्तार र वृद्धिका लागि रोजगारी विस्तार र सृजना गर्न खुकुलो मौद्रिक नीतिको खाँचो छ ।’
त्यस्तै उनले राष्ट्र बैङ्क सजग भएर उद्योग क्षेत्रमा जाने लगानीमा लचिलो हुने गरी २०२३/०२४ को लागि मौद्रिक नीति ल्याउनुपर्ने तथा समस्यामा रहेका उत्पादनमूलक व्यवसायका लागि पुर्नकर्जाको व्यवस्था कायम गर्नुपर्ने माग गरे ।
‘अर्थतन्त्रको समग्र माग घटिरहेको र लगानीयोग्य पुँजीको लागत बढी रहेको अवस्थामा इन्स्ट्रेट रेट कोरिडोर अन्तर्गतका दरहरू र बैङ्क दरहरू घटाउनु पर्छ ।’
उनले राष्ट्र बैङ्कले लिएको निर्देशित लगानी कार्यक्रमलाई साना, मझौला तथा ठुला उद्योग लगायत उत्पादनमूलक उद्योग तथा क्षेत्रमा लगानी विस्तार प्रवाह हुने गरी परिमार्जन गर्न आवश्यक रहेकोले काउन्टर साइक्लिङ बफर एक वर्षको लागि स्थगन गर्नुपर्ने लगायतका विविध सुझाव राष्ट्र बैङ्कलाई दिएका छन् ।