तेस्रो बाना कप भलिवलको उपाधि योङ्ग बल्ड ह्यारिसबर्गलाई,फाइनलमा सिन्धुबुद्द न्यूयोर्क पराजित
मेरील्याण्ड,अमेरिका। तेस्रो बाना कप अन्तर-राज्य भलिवल प्रतियोगितामा पुरुष तथा महिला दुबै तर्फको उपाधि पेन्सिलभेनियाले जितेको छ।
पुरुष तर्फको उपाधि योङ्ग बल्ड ह्यारिसबर्ग पेन्सिलभेनियाले जित्यो। महिला तर्फको मैत्री खेलमा ह्यारिसबर्गले आयोजक टिमलाई २५-२३ र २५-१५ ले हरायो।
बाल्टिमोर एसोसिएसन अफ नेपालीज् इन अमेरिका (बाना) द्वारा आयोजित प्रतियोगिताको आइतवार साँझ भएको पुरुष तर्फको फाइनलमा सिन्धुबुद्द ट्याक्स न्यूयोर्कलाई तीन दुईको सेटमा हराउदै योङ्ग बल्डले उपाधि जितेको हो।
पहिलो सेट गुमाएर पनि योङ्ग बल्ड खेलमा फर्किएको हो। पहिलो सेट सिन्धुबुद्दले २५-२० ले जितेको थियो। दोस्रो सेटमा पनि सिन्धुले राम्रो शुरुवात गरेको थियो। तर नतिजा २६-२४ ले योङ्ग बल्डको पक्षमा गयो। दोस्रो सेटमा कुनै समय योङ्ग बल्ड ६ अंकले पछाडि थियो।
खेल एक एक सेटको बराबरीमा रहेको बेला तेस्रो सेट निकै नै प्रतिस्पर्धी बन्यो। योङ्ग बल्डले २८-२६ को कठिन जित निकाल्यो। चौथो सेट सजिलै सिन्धुबुद्दको पक्षमा गयो। योङ्ग बल्डलाई सिन्धुले निकै कममा रोकेर उपाधि न्यूयोर्क लैजाने संकेत गरेको पनि थियो।
चौथो सेट सिन्धुबुद्दले २५-१८ ले जित्दै खेल दुई दुई सेटको बराबरीमा पुर्याएको थियो। तर फाइनल खेलको फाइनल सेट १५-११ ले जित्दै योङ्ग बल्ड मेरील्याण्डमा आफ्नो पहिलो उपाधि जित्न सफल भयो। त्यसो त योङ्ग बल्डका लागि यो वर्षको पहिलो उपाधि पनि हो।
यस अगाडि मेरील्याण्डमा नै भएको पर्वत समाज कपको सेमीफाइनलमा मेरील्याण्ड एनआरएनए सँग हार्न पुगेको थियो।
शनिवार नै भएको बाना कपको सेमीफाइनलमा त्यही एनआरएनए मेरील्याण्डलाई २५-१९, २५-१८ र २५-२४ को सेटमा हराउदै योङ्ग बल्डले उपाधि यात्रा कायम नै राखेको थियो। दिनको अर्को सेमीफाइनलमा सिन्धुबुद्दले बेलमण्ड बाल्टिमोरलाई २५-२१,२५-१९ र २५-२२ ले हराएको थियो।
‘ह्यारिसबर्ग गोर्खा’ रिनेम भइ सन् २०२१ मा ‘योङ्ग बल्ड’ बनेको हो। योङ्ग बल्डका लागि यो बर्षको पहिलो उपाधि पनि हो। रिनेम भए यता योङ्ग बल्डले पेन्सिलभेनियाको पिटसबर्ग, मेकानिसबर्ग, क्यानडामा भएको नर्थ अमेरिकन लिग, लाइन्स क्लब न्यूह्यामसायर कपको पनि उपाधि जितेको छ।
तेस्रो बाना कप सँगै योङ्ग बल्डले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर नगद पनि पायो। सिन्दुबुद्दको भागमा भने तीन हजार तीन सय ३३ डलर पर्यो।
महिला तर्फको विजेता टिमले ६ सय अमेरिकी डलर पायो। प्रतियोगितामा बेस्ट सटरको उपाधि सिन्धुबुद्दका तेन्जिङ्ग शेर्पा पाए। योङ्ग बल्डका दिपेश महत बेष्ट बल्कर घोषित भए। फुटबलको गोररक्षक समेत रहेका योङ्ग बल्डका पुजन थापा भलिवल प्रतियोगिताका उत्कृष्ठ खेलाडी घोषित भए।
शनिवार देखि शुरु भएको प्रतियोगतामा पुरुष तर्फ १६ टिमले भाग लिएका थिए। महिलामा दुई टिमा मात्र भए पछि मैत्रीपूर्ण खेल खेलाइएको थियो।