ट्रान्सअमेरिकन करातेले मनायो आठौं वर्षगाँठ,रेनोल्डस्बर्ग डोजो बन्यो ‘च्याम्पियन’
कोलम्बस, ओहायो / ट्रान्सअमेरिकन एसोसिएशन अफ सितोरियो कराते डो (टास्क) को आठौ वर्षगाँठको उपलक्ष्यमा आयोजित टिम छनौट प्रतियोगितामा रेनोल्डस्बर्ग डोजो च्याम्पियन बनेको छ।
ओहायोको कोलम्बसमा शनिवार भएको प्रतियोगितामा स्थानीय रेनोल्डस्बर्ग डोजोले सर्वाधिक १२ स्वर्ण जित्यो। यदु कुईकेल प्रमुख प्रशिक्षक तथा संचालक रहेको रेनोल्डस्बर्ग डोजोले ११ रजत र नौ कास्य पदक पनि घरमै राख्यो।
पेन्सिलभेनियाको पिटर्सबर्ग डोजो चार स्वर्ण सहित दोस्रो भयो। पिटर्सबर्गले कुमुतेमा तीन र कातामा एक स्वर्ण जितेको थियो। पिटर्सबर्गले दुई रजत र ६ कास्य पदक पनि जित्यो।
केन्टकीका लुइसभिल र लेजिन्टन सीटी संयुक्त रुपमा तेस्रो भए। केन्टकीले दुई स्वर्ण दुई रजत र दश कास्य पदक जितेका थिए।
यस्तै गरि पेन्सिलभेनियाको ल्यानक्यास्टर डोजोले दुई रजत र दुई कास्य जित्यो। ल्यानक्यास्टरकी कामना ज्योति धिमाल कुमुतेमा बेष्ट गल्स फाइटर घोषित भइन्। उनले काता र कुमुते दुबै तर्फ रजत पदक जितेकी थिइन्।
गल्सकै कातामा रेनोल्डस्बर्गकी प्रकृति खतिवडा उत्कृष्ठ घोषित भइन्। ब्वाइज तर्फ कातामा रेनोल्डस्बर्गका याड्रिन मिश्र र कुमुतेमा केन्टकीका छितिज राई उत्कृष्ठ घोषित भए।
प्रतियोगितमा ओहायो, पेन्सिलभेनिया र केन्टकीका पाँच डोजोका ७० खेलाडीले भाग लिएका थिए।
केक काटेर मनाइयो वार्षिक उत्सव
ट्रान्सअमेरिकन कराते सन् २०१५ मा स्थापना भएको हो। यसका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक टीआरएम्फु (टीआर) राई हुन्। उनी भुटानी करातेका पनि संस्थापक हुन्।
अमेरिका पुनर्वास भए पछि राईले ओहायोको कोलम्वसमा कराते स्कूल स्थापना गरेका थिए। त्यही स्कूल अहिले तीन राज्यका पाँच स्थानमा फैलिएको छ।
प्रतियोगिताकै बीचमा खेलाडी,अभिभावक, प्रशिक्षक तथा पदाधिकारीको रोहवरमा ‘केक काटेर’ स्थापना दिवसको खुसी साटासाट गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि अमेरिकामा भुजनीज नेपाली समुदायका पहिलो जनप्रतिनिधि रनोल्डस्बर्ग सीटीका काउन्सिल म्यान भुवन प्याकुरेल, नेपाली करातेका संस्थापक थानेश्वर (टीएस) राई, टास्कका संस्थापक टीआर राई लगायतले केक काटेका थिए। सो अवसरमा दीप पनि प्रज्वलन गरिएको थियो।
त्यस अगाडि प्रतियोगिताको शुभारम्भमा अभिभावकको तर्फबाट भीम ढाकाल र दुर्गा कोइराला मिश्रले सहभागि सबैलाई स्वागत मन्तव्य दिएका थिए।
यस्तै कराते खेलाडी समिरन धिमालले गिताको चौथो स्लोक बाचन गरेका थिए। पेन्सिलभेनयाको ल्यानक्यास्टरबाट कोलम्बस पुगेका धिमालले काता र कुमुते दुबै तर्फ पदक जितेका थिए।
प्याकुरेल र अधिकारीलाई सम्मान
आठौं वर्षिकत्वसका अवसरमा प्रमुख अतिथि क्याउनसिलम्यान भुवन प्याकुरेल र इन्ट्रा फाउन्डेशनका कार्यकारी निर्देशक डिल्लि अधिकारीलाई कदर पत्र सहित सम्मान गरिएको थियो।
कास्कको स्थापना तथा अमेरिकामा रहेका नेपालीभाषीका लागि उलेख्य योगदान पुर्याएको भन्दै प्याकुरेल र अधिकारीलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको हो।
कार्यक्रम संचालक अशोक गुरुङले सम्मान पत्र बाचन गरेका थिए।
टाक्स च्याम्पियनसिपमा ओलम्पिकको चर्चा
सम्मान पछि सम्बोधन गर्दै काउन्सिलम्यान प्याकुरेलले आफ्ना नानीहरुलाई करातेमा पठाएर अभिभावकले राष्ट्रलाई नै योगदान दिएको बताए।
‘जो जो बुबा आमा यहाँ हुनुहुन्छ,तपाईहरुले जो योगदान दिनु भएको छ, नानीहरु करातेमा ल्याएर तपाईहरुको यो योगदान सराहनीय मात्र नभएर,तपाईको छोरा छोरीका लागि मात्र नभर यो समाजका लागि मात्र नभएर यो देशका लागि नै ठूलो योगदान दिनु भएको छ।’ उनले भने।
प्याकुरेलले बालबालिकालाई फोनबाट मुक्त गराउन पनि खेलकुद उपयुक्त उपाय हुने सुझाव दिए।
पूर्व कराते खेलाडी समेत रहेका प्याकुरेलले नेपालीभाषी बालकालिकालाई अमेरिकन टिमबाट ओलम्पिकमा देख्न चाहेको पनि बताए।
‘म तपाईहरुलाई अमेरिकाको तर्फबाट ओलम्पिकमा हेर्न चाहान्छु, यो सदैव सम्भव छ,तपाईहरुले गर्न सक्नु हुन्छ, प्याकुरेलले भने, ‘टीआर राईलाई नै हेर्नु न शरणार्थी शिविरमा करातेका बारेमा कसैलाई पनि जानकारी नै थिएन। उहाँले क्याम्पमा कराते ल्याउनु भयो।’
‘शरणार्थी हुँदा नै उहाँले धेरै देशमा प्रतिनिधित्व गर्नु भयो। तर अहिले हामी सँग घर छ, राम्रो गाडी छ, हामी सँग स्कूल छ।’ प्याकुरेलले खेलाडीलाई आश्वस्त पार्दै भने, ‘हामी त्यो गर्न सक्छौ जो चाहान्छौ, राम्रा प्रशिक्षक पनि छन्, असम्भव केही छैन । सन् २०३० सम्म तपाईहरु मध्येबाट ओलम्पिक खेल्न सक्नु हुने छ।’
नेपाली करातेका संस्थापक तथा टास्कका प्राविधिक निर्देशक टीएस राईले पनि अमेरिकामा रहेका नेपालीभाषी खेलाडीलाई ओलम्पिकमा सहभागिताको शुभ कामना दिए।
उनले कराते मार्फत अमेरिकामा रहेका नेपाली भाषीको नाम उच्च राख्न पनि सुझाव दिए।
‘जुन प्रकारले यो प्रतियोगिता भइरहेको छ, यसको मुख्य उद्देश्य भविश्यमा नेपाली कम्युनीटीका राम्रा नानीहरु छन् उनीहरुले अमेरिकन राष्ट्रिय टिममा समावेस भएर पान अमेरिकन, विश्व कराते डब्लुकेएफमा पनि सहभागिता गर्न सफल होस।’ राईले भने, ‘र आउदा दिनमा ओलम्पिकमा पनि नेपाली भाषी कम्युनीटिको नाम उच्च राख्न सफल हुनुहोस यही शुभ कामना ।’
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने
प्रतियोगिताको समापन गर्दै टास्कका संस्थापक राईले आफुहरुले इतिहास रचेको बताए।
‘जुन महिनाको दश तारिक आजको दिन भुजनीज कराते परिवारले इतिहास रचेको छ।’ राईले भने,’अमेरिका जस्तो ठाँउमा आएर हामीले पहिलो पटक यस करातेको परिचय गराउन सफल भएको स्थान हो कोल्मबस रेनोल्डस्बर्ग।’
उनले आगामी दिनमा अन्तर्राष्ट्रियकै प्रतियोगिता आयोजना गरिने घोषणा गरे।
‘निकट भविश्यमा हामी टास्कको मात्र नभएर क्षेत्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको यो पनि घोषणा गर्दछु।’