अमेरिका स्थित नेपाली दुतावासमा जागिर खुल्यो
पेन्सिलभेनिया,अमेरिका / अमेरिका स्थित नेपाली दुतावासमा नयाँ जागिर खुलेको छ। वासिङ्गटन डिसीमा रहेको नेपाली दुतावसले बिहिवार करार सेवाका लागि दरखास्त आह्वान गरेको हो।
दुतावासले जारी गरेको सूचनामा कार्यालय सहायकका लागि दुई पदमा कर्मचारीको आवश्यकता भएको जनाइएको छ। इच्छुक व्यक्तिहरूलाई जुन १५ भित्र आफ्नो आवेदन दिन भनिएको छ।
कर्मचारीको कर्तव्य र जिम्मेवारीमा टेलिफोन सोधपुछ ह्यान्डल गर्नु पर्ने, विभिन्न कन्सुलर सेवाहरूको लागि दूतावासमा आउने आगन्तुकहरूलाई सुविधा दिने रहेका छन्।
यसै गरि दुतावासमा आउने र बाहिर जाने चिठ्ठिपत्र तथा पार्सलमा काम गर्नु पर्ने छ। दूतावासले तोके अनुसार कन्सुलर आवेदनका काम पनि गर्न पर्ने भनिएको छ।
२१ देखि ३५ वर्ष सम्मको उमेरकाले आवेदन दिन सक्ने छन्। शैक्षिक योग्यता हाई स्कूल डिप्लोमा तोकिएको छ। आवेदक कम्तिमा दुई वर्षको कार्य अनुभव र राम्रो जनसम्पर्क कौशल हुनु पर्ने छ।
कम्प्युटर र आईटी सीपहरू तथा अंग्रेजी भाषामा लेखन र बोल्न धाराप्रवाह हुनु पर्ने भनिएको छ। तलव सुविधा दुतावासको नियम अनुसार हुने भनिएको छ। आवेदनका साथमा राहदानी र नागरिकता प्रमाणपत्र तथा दुई प्रति फोटो माग गरिएको छ।