एनआरएनए अमेरिकाज डिआरसी सुवेदीलाई पत्नीशोक
टेक्सास,अमेरिका / गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रिय उपसंयोजक (डिआरसी) रामकुमार सुवेदीलाई पत्नीशोक परेको छ।
रामकुमारकी पत्नी प्रमिला सुवेदीको बिहिवार साँझको सडक दुर्घटनामा निधन भएको हो। दुर्घटना टेक्सासमा भएको हो।
सुवेदी परिवार टेक्सासको फोर्थवोर्थमा बसोबास गर्दै आएका थिए। घटना टेक्सास राज्यकै अस्टिन नजिक रकडेल काउन्टीमा भएको थियो।
पारिवारिक सदस्यका अनुसार ४६ वर्षीया प्रमिला छोरालाई कलेज पुर्याएर त्यतैबाट भाइको घर जादै थिइन। प्रहरीले परिवारलाई दिएको जानकारी अनुसार प्रमिलाले चलाएको कारलाई ट्रकले ठक्कर दिएको थियो।
प्रहरीले घरमै आएर प्रमिलाको घटनास्थलमै निधन भएको जानकारी दिएको थियो। जुनसमय रामकुमार कान्छा छोरा सँगै घरमा थिए।
लामो समय अमेरिकाको कनेक्टिकट बसेर सन् २०१७ मा सुवेदी परिवार टेक्सास बसाई सरेको थियो। प्रमिला नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिपक प्रकाश बास्कोटाकी छोरी हुन्।
सुवेदी परिवारले अस्टिनमा नयाँ घर किन्ने तयारीमा थियो। मे १२ तारिकमा घर पास गर्नु पर्ने भएकाले शुक्रवार वाक थ्रु राखिएको थियो। प्रमिला छोरालाई कलेज पुराएर नयाँ घरको वाकथ्रुमा जाने कार्यक्रम थियो।
प्रमिलाका २२ र १४ वर्षका गरि दुई छोरा छन्।
नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक एवं विश्व संजालका अध्यक्ष बिष्णु सुवेदीका अनुसार शुक्रवार साँझ प्रमिलाको शव घटना स्थलबाट फोर्थवोर्थमा ल्याइने छ।
दाहसंस्कार सोमवार (Hughes Family Tribute Center,9700 Webb Chapel Rd, Dallas,Texas, 75220) गरिने छ।
दु:खको यो घडीमा राम कुमार सुवेदी लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा समाज टाइम्स गहिरो समवेदना प्रकट गर्दछ।

















