एनआरएनए यूरोपेली सम्मेलनः ३५ देशका तीन सय प्रतिनिधि सहभागी हुने, परराष्ट्रमन्त्री साउद समापनमा पुग्ने
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं युरोपेली सम्मेलन शुक्रवारदेखि चेक रिपब्लिकको राजधानी परागमा शुरु हुदैछ ।
मे ५, ६ र ७ तारिख तीन दिनमा जारी रहने सो सम्मेलनको उद्घाट संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वानले गर्ने तयारी रहेको छ । अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुका प्रतिनिधिको सहभागीता रहने सो सम्मेलनको समापन समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने संघले जनाएको छ ।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार सम्मेलनमा संघका नियमित अजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोषलगायतका विषयमा घनिभूत छलफल हुने भएको छ ।
सम्मेलनमा भाग लिन विहीवारदेखि नै बिभिन्न देशका गैरआवासीय नेपालीहरु पराग उत्रिएका छन् । सो सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकले लिएको छ ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले सम्मेलन नियमित भए पनि सम्मेलनमा प्रस्तुत हुने अजेण्डाहरुले गैरआवासीय नेपाली संघलाई थप मजबुद र चलायमान बनाउने बताए ।
डा. शर्माले भने नेपालमा जति पुँजीको लगानी छ त्यति नै सिप, ज्ञान र प्रविधिको लगानीको महत्व त्यसैले क्षेत्रीय सम्मेलनमा हामी नेपालीमा बैद्धिक लगानीको सम्भवना र चुनौतीका बारेमा समेत छलफल गर्ने छौं । डा. शर्माले सम्मेलनका संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुने जानकारी दिए ।
को को सहभागी हुदैछन् ?
सो सम्मेलनमा नेपाली कांग्रेस नेता रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुभास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी हुने छन् । यस्तै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र कुमार पन्तसमेत सम्मेलनमा आउने बताइएको छ ।
सम्मेलनको तयारीका लागि क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणी सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली संघका अधिकांस केन्द्रीय पदाधिकारीहरु पराग आइपुगेका छन् ।
सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रिय अध्यक्षहरु, पूर्वअध्यक्षहरु, पत्रकारहरु र संस्थापकहरुको उपस्थिति रहनेछ ।
गैरआवासीय नेपाली संघको यस्ता सम्मेलनले निकै ठूला खर्चिला र उपलब्धि बिहिन हुने भनेर कयौंले आलोचना समेत गर्दै आएका छन् । सम्मेलनमा सहभागी प्रतिनिधिहरुले होटल, खाना तथा यातायतको सम्पूर्ण खर्च आफै व्यहोर्दै आएका छन् ।
यस्तो छ तीन दिनेका मुख्य कार्यक्रम
गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिम्खडाका अनुसार शुक्रवार दिउँसोदेखि संघको औपचारिक कार्यक्रम शुरु हुने भएको छ ।
पहिलो दिन, शुक्रवार विहानैदेखि प्रतिनिधिहरुको दर्ता प्रारम्भ हुने संघले जनाएको छ । दिउँसो २ बजेदेखि मात्र संस्थागत गतिविधिहरु हुने बताइएको छ । २ बजेदेखि साँझ ५ बजेसम्म स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समितिबीचको नेटवर्कको बारेमा छलफल हुनेछ भने साँझ ५ बजेदेखि उद्घाटन सत्र शुरु हुनेछ ।
सम्मेलनको दोस्रो दिन, शनिवार राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप (एकता), एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोशन लगायतका कार्यक्रम तय गरिएको छ ।
यस्तै सम्मेलनको तेस्रो दिन, आइतवार नेपालमा १० अर्व लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सिप, ज्ञान तथा प्रविधि ट्रान्फर लगायतका विषयमा छलफल हुनेछ भने सम्मेलनको अन्त्यमा पराग घोषणपत्र जारी गरिने गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

















