सच्चिने की सक्किने !
काठमाडौं/ आजभन्दा १७ वर्ष अघि नेपालमा लोकतन्त्र स्थापना भएको थियो । लोकतन्त्र स्थापना भएको यो १७ वर्षमा व्यवस्था परिवर्तन भयो तर आम मानिसको जनजिविकामा परिवर्तन आउन सकेन । तत्कालीन राजा ज्ञानेन्द्र शाहले सक्रिय शासन चलाउँदा तत्कालीन सात राजनीतिक दल, जङ्गलमा रहेको माओवादी र नागरिक समाज मिलेर गरेको आन्दोलनको बलमा संसद् पुनर्स्थापना भएको थियो । त्यही पुर्नस्थापित संसद्ले संविधानसभाको निर्वाचन गराउनुका साथै देशमा गणतन्त्र पनि घोषणा गरेको थियो ।
लोकतन्त्र दिवस मनाउँदै गर्दा जनतामा जुन खुसी र उमंग देखिनु पर्ने थियो, त्यो अहिले फिका फिका हुन थालेको छ भने ठ्याक्कै आज देशका ३ वटा निर्वाचन क्षेत्रमा भएको उप निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको प्रारम्भिक रुझानमै स्थापित दल अझ भनौं लोकतन्त्र स्थापना गर्नका लागि महत्वपूर्ण भूमिका खेलेकाहरू नै नराम्रोसँग पछारिने अवस्थामा पुगेका छन् । यसले के देखाउँछ भने यो १७ वर्षमा काठमाडौंको बाग्मतीमा मात्रै होइन देशका धेरै खेलामा धेरै पानी बगिसकेको छ, यसले कति त फोहोर पनि बगायो होला ।
अहिले स्थापित दलहरू प्रति आम मानिसको भरोसा टुट्नुको मुख्य कारण भनेकै ती राजनीतिक दलहरूको परम्परागत कार्यशैली नै हो । त्यसैले अहिले जसरी पुराना राजनीतिक दलहरू गठबन्धन गरेर जाँदा पनि गत असार १७ गते मात्रै निर्वाचन आयोगमा औपचारिक दर्ता भएर गोलाकारभित्र घण्टी चुनाव चिन्ह लिएको राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले भेल नै देखिएको छ ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा २०६४ सालको संविधानसभाको निर्वाचनमा तत्कालीन माओवादीले पाएको मत जस्तै भनेर कतिपयले व्याख्या गर्ने पनि गरेका छन् । हो त्यतिबेला ‘सबैलाई हेर्यौं पटक पटक, माओवादीलाई हेरौं एकपटक’ भन्ने नारा सार्थक भएजस्तै अहिले रास्वपाको माहोल भनेर मात्रै बुझे भने स्थापित राजनीतिक दलहरू २०८४ सालको चुनावमा नराम्रोसँग जाकिने पक्का छ ।
अहिले भनेको सञ्चारको युगमा कसले के गरेको छ र कस्तो गरेको छ भनेर आम मानिसले नै सबै हिसाब किताब राखेर बसेका छन् । विगतमा मुखिया, बडघर प्रथाजस्तो एक जनाले भन्दैमा सबैले त्यही मान्नुपर्छ भन्ने पनि छैन । अहिलेका मानिसहरू देश दुनियाँबारे राम्रो जानकार रहेकाले कसैले भन्दैमा आफ्नो मत र मन बदल्ने वाला छैनन् । अहिले आम मानिसहरू स्वतः स्फूर्तरुपमा मन र मत बदल्दा १ वर्ष पनि नपुगेको पार्टीले संसदीय यात्रा शानदारमात्रै बनाएको छैन, ठूला भनिएका नेपाली कांग्र्रेस, नेकपा एमाले र माओवादीलाई पनि ठूलै झड्का दिएको छ ।
त्यसैले अब पनि आफूलाई सच्याउने हो भने पुराना राजनीतिक दलहरुले आफूलाई सच्याएर अघि बढ्दै आम जनजीविकाका सवालमा ध्यान केन्द्रित नगर्ने हो भने अबका दिनमा ती राजनीतिक दलहरुलाई आम मतदाताले फेरि प्रश्न गर्ने छन् नेता ज्यु तपाईं सच्चिने की सक्किने एक पटक सोँचेर मात्रै मत माग्न आउनु होला । अहिलेसम्म देशका ३ वटा निर्वाचन क्षेत्रमा भएको उप निर्वाचनमा चितवनमा रवि लामिछाने र तनहुँमा स्वर्णिम वाग्ले अगाडि रहेका छन् ।