सर्वोच्चको आदेश : अठार दिनपछि उठ्यो सिंहदरबारको फोहोर
काठमाडौं । काठमाडौँ महानगरपालिकाले १८ दिनपछि आज सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवासको फोहोर व्यवस्थापन सुरु गरेको छ ।
गत शुक्रबार सर्वोच्च अदालले तीन दिनभित्र सबै फोहोर व्यवस्थापन गर्न काठमाडौँ महानगरलाई आदेश जारी गरेको थियो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमाधि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तीन दिनभित्र फोहोरको व्यवस्थापन गर्न कामपाका नाममा आदेश जारी गरेको थियो ।
जनताकै हितका लागि काम गर्दा केन्द्र सरकारले आफूलाई पटकपटक असहयोग गरेको आरोप लगाउँदै गत चैत २५ गते कामपाको प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत मुख्य प्रशासनिक निकाय सिंहदरबार लगायतको फोहोर नउठाउने बताएका थिए ।
गत चैत २५ देखि नै यी तीनै स्थानको फोहोर व्यवस्थापन हुन सकेको थिएन । अदालको आदेशकै आधारमा कामपाले आजदेखि उक्त स्थानहरुको फोहोर व्यवस्थापनको काम थालेको हो । १८ दिनदेखिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न कम्तीमा चार दिन लाग्ने कामपाले जनाएको छ ।
अहिले मुख्य प्रशासनिक निकाय सिंहदरबारमा ७० टन, राष्ट्रपति कार्यालयमा ३५ र बालुवाटारमा १५ टन फोहोर जम्मा भएको कामपाको अनुमान छ ।
गत मङ्सिरमा थापाथलीस्थित बागमती किनाराका सुकुम्बासी बस्ती हटाउने काम होस् या गत चैत २४ गते तीनकुनेदेखि सिनामङ्गलसम्मको सुकुम्बासी बस्तीमा डोजर चलाउनका लागि पनि केन्द्र सरकारको सहयोग नरहेको गुनासो कामपाको छ ।