के महिलाहरु सस्ता माल नै हुन् त?

तारा भट्टराई
न्यूयोर्क, अमेरिका / यो अलिक अस्ती नै को कुरा हो, एकजना विद्वान महोदयले कुरै कुरामा बडो आत्मविश्वासका साथ भने, नेपालमा महिलाहरु फालाफाल पाईन्छन् । कतै संख्याको हिसाबले पो भनेका हुन कि भन्ठाने र नेपाली वेवसाईटहरु हेरे। पुरुष ४८.५६ प्रतिशत र महिला ५१.४४ प्रतिशत रहेछन्।
ती विद्वानसंगको संवादबाट मैले के पनि बुझ्दै थिए भने, पुरुषहरु अत्यन्त सम्मानित छन् र महिलाहरु अझैपनि सस्तो। चाईनीज सामान जस्ता युज एण्ड थ्रो, अपमानित भएर बाचिरहेका छन् ।अथवा महिलाको वेश्यावृत्ति र दासत्वकरण व्यापक रूपमा चलिरहेको अवस्था छ।
मोलतोल भन्दा पनि सस्तैमा उनी सामान पाईरहेका छन् र ती विद्वानले हरेक दिन रोजी छाडी महिलाहरुसंग यौन सम्बन्ध राखेर भरपुर मनोरञ्जन लिईरहेका छन्। कि त ती विद्वान महोदय रेडलाइट एरियामा नै कोठा लिएर यौन किनबेच धन्दा चलाउछन्। मैले यस्तो संवाद जीवनमा पहिलो पटक सुनेको भने होईन।
उता अर्को एउटा पत्रकार सम्मेलनमा नयाँ उदियमान र अत्यधिक जमातले मन पराईएका लोकप्रिय नेता रवि लामिछानेजीले भन्दै थिए, “मैले एकजनासँग बिवाह गरे, अर्कोसँग प्रेम गरें र बच्चा पनि पाए, अनि फेरि अर्को बिहे गरेर बसेको छु। मेरो जीवनमा भएको त्यही हो।”
भिडियो सुनिसकेपछि मनमा लाग्यो यो कुरा कुनै महिलाले सार्वजनिक रुपमा भनेको भए उनी पुरै चरित्रहिन हुदै समाजबाट बहिस्कृत नै हुन्थिन होला। तर एकजना पुरुष जस्को भागमा बिहे गर्ने, प्रेम गर्ने, बच्चा जन्माउने र राजनीतिक करियरमा साथ दिने फरक फरक महिलाहरु पर्याप्त मात्रामा उपलब्ध रहेछन्। पत्रकार सम्मेलन मै छाती फुलाएर यो कुरा भन्ने दिन हामी महिलाको कहिले आउला?
हालसालै बजारमा चर्चा पाईरहेको प्रकाश सपुतको सकम्बरी पनि सुने। उनको भावनाबाट उत्पन्न दृष्टिकोणलाई गीतमार्फत फूलमायालाई बुलाकी कहाँबाट आयो? रातो स्कुटर, सुनको झुम्का, पाउजु कहाँबाट आयो? कसले दियो ? तिम्रो बैंसको आयु कति छ? भनेर महिला इज्जतको बारेमा प्रश्न सोधेका छन्। यो प्रश्न सोध्ने आट उनले कसरी गरे? यौन जस्तो महिलाको निजी र आन्तरिक बिषयमा महिला चरित्रसँग जोडेर तयार गरेको यो गीत बजारमा बेचेर प्रकाश सपुतपनि सायद चाँडै सहरमा रातो बंगाला र रातो गाडीको जोहो गर्ने सपना देखिरहेका होलान्।
सो गीत सुनिसकेपछि के पनि लाग्यो भने यस्ता गीतहरु किन महिलाहरु माथि नै बनाईनु पर्ने? गीतकार, कवि, निवन्धकार, साहित्यकार वा हरेक तह र तप्काले एउटी महिलाको इज्ज्यतमाथि कसरी शंका गर्दारहेछन् भन्ने कुरा पनि छर्लंग हुन्छ ।
समाजका हरेक तह र तप्काको नजरबन्दमा रहेका महिलाले आफुले प्रयोगका लागी खरिद गरेका हरेक ब्रा, पेन्टि, लिपिष्टिक, पाउडर लगायतका सम्पूर्ण सरसामानको हिसाब किताब बुझाउनु पर्ने ? यस्ले महिलाको आफ्नो आत्मसम्मान र स्वतन्त्रतामा पुरै बन्देज लगाएको छ।
केहि महिलाबादी र समाजशास्त्रीहरुले यौनिक र प्रजनन अधिकारको मुद्दा हो भने पनि कसैको जीविका र रोजिरोटी माथि प्रश्न गर्ने अधिकार कसैलाई पनि छैन। यो गीत यदी ठीक नियत राखेर सन्देश प्रवाह गरेको वा वकालत गरेको जस्तो कसैलाई लाग्छ भने त्यो भ्रम हो। महिलाका जे जे खरावीहरु देखापर्छन् त्यसैका विरुद्ध लाग्दै जानु समस्याको समाधान होईन।
समाजलाई नयाँ चेतना दिने र परिवर्तन गर्न् उद्देश्य थियो भने, यस्को समस्याको जरो तिर जानु पर्थ्यो। महिलाको नितान्त व्यक्तिगत कुराको विश्लेषक र साक्षी बन्नेर सस्तो माल सरहको गीत रेकर्डिग गरि बजारमा ल्याएर बेच्नु महिलामाथिको सरासर अन्याय हो।
नेपालमा जमिन पुरुषहरुको नाममा छ, जंगल तस्करहरुको हातमा छ, अर्थतन्त्रका सम्पुर्ण आधारहरु निश्चित बर्गको हातमा छन्। अनि महिलाहरु तिमीहरु स्वतन्त्र छौ अब गरि खाँउ भन्ने तर सम्मानजनक ढंगले कतैबाट पनि बाच्न दिदैनन्। केही महिलावादीहरु छन् तर राजनीतिको आडमा कमाउ धन्दा गरिरहेका छन्। एता अमेरिकामा ४५ प्रतिशत महिला आफ्नै व्यवसायका मालिक छन्।
हो, पहिले पहिले लुकिछिपी महिलाहरुलाई यौन व्यापार गर्न बाध्य पारिन्थ्यो भने अचेल पोर्न र फेशन उद्योगमार्फत महिलाहरुको शरिरमाथि खुलेआम शोषण भैरहेको तितो सत्य छ। म एता न्यूयोर्क तिर हेर्छु, महिलाहरु आँखा, मुख, दाँत , ओठ, स्तन, कपाल लगायतका सबै अंगहरु पोलिस लगाएर चम्किला देखिन्छन् ।
सुन्दरताको नाममा यौनको कारोबार भैरहेकै छ र महिलाको शरिरको खरिदबिक्री पनि चलिरहेकै छ। कतिपय कम्पनिहरु छाला राम्रो भएका, ख्याप्प पेट भित्र पसेका, जिरोफिगरहुनेहरु हायर गर्ने र आफ्नै ब्राण्डका मालहरु बिकाउने गर्छन्। महिलाको सौन्दर्यतासंग यौनपनि जोडिएको हुन्छ र यी दुबैसंग अर्थतन्त्र जोडिएको छ। फेसन र ब्राण्ड खरिद गर्न सक्ने र नसक्ने महिलाहरु बीच तुलना गरेको देख्छु, कमेण्ट गरेको सुन्छु “ऊ त कति चिप (सस्तो) रहिछे। एउटा ब्राण्डेड ब्याग पनि बोक्न नसक्ने?” टिकटकमा एकचोटी लगाएको लुगा अर्को चोटी लाउन नहुनेहरुको तनाब पनि ठूलै देख्छु म। अगाडिपट्टि छातीमा खुल्ला र तिघ्रा नछोपिने लुगा लगाएकाहरु आफुलाई खुव स्वतन्त्र महसुस गरिरहेको पनि देख्छु म।
लाग्छ महिलाको शृर्जनात्मक क्षमतामा बजारले पुरै हस्तक्षेप गरेको छ। स्वस्थ्य र हृष्टपुष्ट शरिर हुनु र अरुलाई मनपर्ने अनुकुलको शरिर बनाउनु दुई फरक कुरा हुन् जस्तो मलाई लाग्छ। यस्तै संस्कारमा हुर्किएका मानिसहरु यस्तै शब्दजालहरु रचेर किस्तीमा राखेर बजारमा बेच्छन् र आफु पपुलर हुन्छन्।
विडम्बना भन्नुपर्छ, आजको दिनमा पनि हामी महिलाहरुको यस्तो अवस्था देख्दा। अझैपनि समाज र समाजका पुरुषको स्वभाव र चिन्तनको शैली फेरिएको छैन। त्यही चिन्तन र ब्यवहारमा हुर्किएका महिलाहरु स्वयं पनि कमजोर हुँ भन्ने स्वीकार गर्छौं। र महिलाको पेशा, श्रम, पारिश्रमिक, रुची र वाध्यताको बिषयमा यसरी रत्यौली भाषामा सधैं मजाक गरिराख्नु राम्रो होईन।