एसीसी प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको सहज जित
काठमाडौैं । एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा भीम शार्की र कुशल मल्ल नायक रहे । मलेसियाविरुद्ध कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ गरेका थिए । तर ओपनिङ जोडी जम्न सकेन । नेपालको स्कोरवोर्डमा ५ रन हुँदा आशिफ शेख पभेलियन फर्किए । उनी १ रन बनाएर आउट भएका थिए । कुशललाई साथ दिन भीम शार्की क्रिजमा आए । ९.१ ओभरमा नेपालले ५३ रन बनाएको थियो । त्यतिबेला अर्का ओपनर कुशल भुर्तेल पनि पभेलियन फर्किए । भुर्तेलले ३१ बलमा ३८ रनको पारि खेले । उनले १ छक्का र ३ चौका प्रहार गरे । भीम शार्कीलाई रोहित पौडेल साथ दिन आएका थिए । यी दुई खेलाडी मिलेर नेपालको स्कोर ११९ रन बनाए । यसबीचमा कप्तान पौडेल ४३ बलमा ४२ रनको पारि खेल्दै पभेलियन फर्किएका थिए । उनले ५ चौका प्रहार गरे ।
त्यसपछि भीम र कुशल मल्ल मिलेर नेपाललाई जित दिलाए । यी दुईका बीचमा शतकबढीको साझेदारीले जित पक्का भएको हो । जितका लागि ५ रन चाहिएका बेला भीम शार्कीले छक्का प्रहार गर्न खोज्दा क्याच आउट भए । उनी ७१ रन बनाएर आउट भएका थिए । ९८ बल फेस गर्दा ५ चौका प्रहार गरे ।
कुशल मल्ल ७० रनमा नटआउट रहे । ४० बलमा ५ चौका र ५ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्रसिंह ऐरीले ५ रनको नटआउट पारि खेल्दा विजयी चौका प्रहार गरेका थिए ।
मलेसियाका मोहम्मद वफिक, विजय युनी, रिजवान हैदर र विरेनदीप सिंहले एक एक विकेट लिए । पाहुना टोली मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए । गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
मलेसियाका मोहम्मद अमिर र बिरन्दीप सिंहले ओपनिङ गरेका थिए । ५.५ ओभरमा २२ रन बनाएका बेला मलेसियाले पहिलो विकेट गुमाएको थियो । मलेसियाका अमिर १७ रन बनाएर आउट भएका थिए । १८ बलमा उनले ३ चौका प्रहार गरेका थिए । अमरिलाई गुल्सन झाले दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएका थिए ।
त्यसपछि विरनदीप र कप्तान फैजले मलेसियाको पारि अघि बढाएका थिए । यी दुईले ११६ रनको साझेदारी गर्दै मलेसियाको पारि अघि बढाए । यसबीचमा कप्तान फैजले अर्धशतक पूरा गरेका थिए । टिमको स्कोर ३३.२ ओभरमा १३८ रन भएका बेला फैज ७६ रन बनाएर आउट भए । उनलाई सन्दीप लामिछानेले आउट गरेका हुन । सन्दीपले विकेटकिपमर आशिफ शेखबाट क्याच गराएर नेपाललाई ठूलो सफलता दिलाएका थिए । यस्तै विरेनदीप ४६ रन बनाउँदै आउट भएका थिए ।
उनलाई ललित राजवंशीले आउट गरेका थिए । उनी आउट हुँदा ३७.१ ओभरमा मलेसियाले ३ विकेट गुमाएर १५५ रन बनाएको थियो । त्यसैगरी विजय युनी १२ रन बनाएर आउट हुँदा सयद अजिजले १३ रन बनाए । खैजर हयतले २५ बलमा २२ रन बनाएर आउट हुँदा मलेसियाले २०९ रन बनाएको थियो ।
यसैगरी सेजरुल इद्रिस १३ बलमा २१ रन बनाएर आउट भए । उनलाई सन्दीपले आउट गरेका हुन् । नवौं विकेटको रुपमा अन्तिम बलमा मोहम्मद सयद अन्तिम बलमा आउट भएका थिए । उनी १५ रन बनाएर आउट हुँदा विकेट भने सन्दीपको नाममा रह्यो ।
नेपालका सोमपाल कामीले ९ ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट लिए । यसैगरी गुल्सन झाले ५ ओभरमा १ ओभर मेडन राख्दै ३३ रन दिएर १ विकेट लिए । यस्तै ललित राजवंशीले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए ।
सन्दीप लामछिानेले १० ओभरमा १ ओभर मेडन राख्दै ४८ रन खर्चिएर ३ विकेट लिए । आरिफ शेखले ४ ओभरमा २३ रन खर्चिदा कुशलम मल्लले ६ ओभरमा २५ रन दिए भने दिपेन्द्र सिंह ६ ओभरमा २४ रन दिए ।