इजरायल संकट गहिरिँदो : रक्षामन्त्री बर्खास्त
इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नै सरकारका रक्षामन्त्रीलाई बर्खास्त गरेका छन् ।
रक्षा मन्त्री योभ गालान्टले नेतान्याहुको न्यायिक सुधार विधेयकको बिरूद्ध बोलेपछि उनलाई बर्खास्त गरिएको हो ।
योभले शनिबार एक टिभी कार्यक्रममा देशको न्यायपालिकालाई कमजोर बनाउन ल्याइएको विधेयकले सेनामा पनि विभाजन निम्त्याइरहेको बताएका थिए । यसले देशको सुरक्षालाई खतरामा पारेको छ ।
सरकारले विपक्षीसँग बसेर वार्ता गर्नुपर्छ भनेका थिए । अर्कोतर्फ, आइतबार फेरि इजरायलमा लाखौं प्रदर्शनकारी सडकमा उत्रिए र नेतन्याहुलाई विवादास्पद विधेयक फिर्ता लिन माग गरेका थिए । प्रदर्शनका क्रममा मानिसहरूले इजरायलको राजधानी तेल अवीवको मुख्य राजमार्ग नै अवरुद्ध गरेका थिए ।
इजरायलका जनताले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी घर बाहिर पनि प्रदर्शन गरेका थिए । ती व्यक्तिहरुसँग प्रहरीको झडप भएको थियो ।
एक प्रदर्शनकारीले नेतन्याहुले देशको लोकतन्त्रलाई खतरामा पार्ने सबै सीमा नाघेको बीबीसीलाई बताए । मामिला बढ्दै गएको देखेर अमेरिकाले पनि इजरायलको प्रदर्शनमाथि टिप्पणी गरेको छ । ह्वाइट हाउसका प्रवक्ताले इजरायलले जतिसक्दो चाँडो यो समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
सोमबार अर्थात आज नेतान्याहुले सत्तारुढ गठबन्धनमा संलग्न सबै दलसँग इजरायलको कार्यसम्पादनका बारेमा कुराकानी गर्नेछन् । सञ्चारमाध्यमका अनुसार यो बैठक महत्वपूर्ण हुने, सरकारको अडान स्पष्ट हुनेछ ।
किन इजरायलमा विरोध भइरहेको छ ?
जनवरीमा, इजरायली सरकारले सर्वोच्च अदालतको सम्बन्धमा एक प्रस्ताव जारी ग¥यो । यदि यो पारित भयो भने, इजरायली संसदले सर्वोच्च अदालतको निर्णय उल्टाउने अधिकार प्राप्त गर्नेछ ।
यसलाई ‘ओभरराइड’ विधेयकको नाम दिइएको छ । अब यो विधेयक पारित भएमा संसदमा जसको बहुमत छ त्यसले सर्वोच्चको फैसला उल्टाउन सक्नेछ । यसले देशको लोकतन्त्र र सर्वोच्च अदालतलाई कमजोर बनाउँछ भन्ने जनताको विश्वास छ ।
बीबीसीका अनुसार नयाँ विधेयकले निर्वाचित सरकारहरूलाई न्यायाधीश नियुक्तिमा हस्तक्षेप गर्न अनुमति दिन्छ । जसले न्यायपालिकाको सही र निष्पक्ष निर्णय लिने शक्तिलाई कम गर्नेछ ।
नेतान्याहुको नयाँ विधेयक लागू भएसँगै कुनै पनि कानून खारेज गर्ने विषयमा पनि सर्वोच्च अदालतको शक्ति सीमित हुनेछ ।
यो विधेयकले इजरायललाई दुई भागमा विभाजन गरेको छ ।
इजरायलमा आम जनता मात्र होइन उच्च पदमा बसेका प्रहरी अधिकारी र व्यवसायीले पनि सरकारको निर्णयको विरोध गरिरहेका छन् ।
यसअघि मार्च १२ मा तेल अवीभका प्रहरी प्रमुख एमिशाई अशेदले विरोध प्रदर्शनमा सहभागी भएर सरकारलाई चकित पारेका थिए ।
प्रदर्शनमा सहभागी हुन अशेद आइपुग्दा ताली बजाएर स्वागत गरिएको थियो ।
तर, त्यसपछि उनलाई पदबाट हटाएर अन्यत्र सरुवा गरिएको थियो ।