इरानप्रति कडा बन्दै अमेरिका, बाइडेन भन्छन् ‘आफ्ना नागरिक बचाउन कडा कदम चाल्छौं’
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानलाई चेतावनी दिँदै अमेरिकी नागरिकलाई बचाउन कडा कदम चाल्ने बताएका छन् ।
बाइडेनको यो बयान सिरियामा इरान समर्थित सुरक्षा बलमाथि अमेरिकी हवाई हमलापछि आएको हो ।
यसै क्रममा सिरियामा रहेको अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भएको छ भने पाँच अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकाले यसका लागि इरानलाई दोष दिएको छ ।
बिहीबार अमेरिकाले इरान समर्थित सेनाको आधार शिविरमा हवाई हमला गरेको थियो । जसमा अमेरिकी एफ–१५ जेट विमानहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरसँग सम्बन्धित संगठनका दुईवटा लक्ष्यमा आक्रमण गरेका थिए ।
सिरियामा मानवअधिकारका लागि काम गर्ने संस्थाले अमेरिकी आक्रमणमा इरान समर्थित आठ लडाकु मारिएको दाबी गरेको छ । यद्यपि इरानको सरकारी टेलिभिजनले यस हमलामा कुनै हताहत नभएको दाबी गरेको छ ।
यसअघि सिरियामा रहेको अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा एक अमेरिकी ठेकेदार र पाँच अमेरिकी सैनिक घाइते भएका थिए ।
स्रोतका अनुसार अर्को अमेरिकी बेसमा पनि मिसाइल हमला भएको छ तर यस हमलामा कुनै हताहतको खबर छैन । अमेरिकाले इरान समर्थित सेनामाथि आशंका व्यक्त गरेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन क्यानडा भ्रमणमा छन् । त्यहाँ उनलाई सिरियामा भएको आक्रमणको बारेमा सोधिएको थियो, उनले भने कि अमेरिका इरानसँग युद्ध चाहँदैन तर हामी हाम्रा जनतालाई बचाउन कडा कदम चाल्नेछौं । इरानमा थप आक्रमणको बारेमा सोधिएको प्रश्नमा बाइडेनले भने कि हामी रोकिने छैनौं । बाइडेनको भनाइबाट यो स्पष्ट छ कि आगामी दिनमा अमेरिकाले इरान समर्थित सङ्गठनका निशानामा थप बम प्रहार गर्न सक्छ र दुई देशबीचको तनाव अझै बढ्न सक्छ ।
रुसले इरानमा बनेको ड्रोन युक्रेनमा प्रयोग गरिरहेको अमेरिकाको आरोप छ । जसका कारण अमेरिका र इरानबीचको सम्बन्ध पनि बिग्रिएको छ ।