कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्ष जेल सजाय
नयाँ दिल्ली । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । गुजरात प्रदेशस्थित सूरतको एक अदालतले नेता गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको हो ।
सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । उनी मुद्दाको सुनुवाइको बेला आज सूरत जिल्ला अदालतमा उपस्थित भएका थिए ।
राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिएका थिए । अदालतले कांग्रेस नेता गान्धीलाई आफ्नो फैसलाको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिँदै तत्कालका लागि धरौटीमा छोडेको छ ।
यस्तै, अदालतले गान्धीलाई जेल सजायको फैसला सुनाएपछि भारतीय कांग्रेसले आपत्ती जनाएको छ । कांग्रेसले आफ्ना नेता गान्धीलाई विना कारण दुई वर्ष जेल सजाए सुनाएको भन्दै फैसलाविरुद्ध अदालत जाने बताएको छ ।