‘नयाँ शैक्षिक सत्र सुरुसँगै पाठ्यपुस्तक पनि हात हातमा’
भक्तपुर । नेपालका सरकारी अझ भनौं दूरदराजका विद्यार्थीले समयमै पुस्तक पाउने कुरा कल्पना भन्दा बाहिरको जस्तै रहेको छ । हरेक वर्ष समयमै पाठ्य पुस्तक पाउने कुरा सरकारी संयन्त्रले गरे पनि कार्यान्वयनको पाटो फितलो हुँदा बार्षिक परीक्षा दिन बाध्य भइरहेका खबर पनि सञ्चारमाध्यममा आइरहेका हुन्छन् ।
यस वर्ष भने सरकारी पाठ्य पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले यसै वर्षको चैत १५ गतेभित्र सवै पाठ्य पुस्तक छापि सक्ने दावी गरेको छ । नेपालमा बैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरुहुन्छ । यसवर्ष भने शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीले हात हातमै पाठ्यपुस्तक पुग्ने जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गर्ने जिम्मेवारी पाएको छ । अब करिब दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेकाले एक हप्ताभित्र छपाइ सकिने प्रबन्ध निर्देशक झाले बताए ।
बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापिएको र छापिसकेका पुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम पनि जारी रहेको उनले बताए । केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पुर्याइसकेको झाले बताए । पुस्तक छपाइ जारी रहेकाले समयमा नै पुग्ने पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगानाले बताए ।