नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच टेलिफोन वार्ता भएको छ । शुक्रबार साँझ भारतीय राष्ट्रपति मुर्मुले राष्ट्रपति पौडेललाई फोन गरेर शुभकामना तथा बधाई दिएकी छन् ।
केरला भ्रमणमा रहेकी मुर्मुरले राष्ट्रपति पौडेललाई फोन गरी बधाई दिँदै नेपाल र भारतबीचको अनुपम र बहुआयामिक सम्बन्ध रहेको चर्चा गरेकी छिन् ।
आपसी द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने बिषयमा कुराकानी भएको जनाईएको छ ।
राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मुरले विश्वास व्यक्त गरेकी छिन् ।
सोही अवसरमा राष्ट्रपति पौडेलले भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमण गरी पशुपतिनाथ दर्शन गर्न निमन्त्रणा दिएका छन् ।