सरकारमा नयाँ अनुहारले स्थान पाउनु पर्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले यसअघि अवसर नपाएकालाई सरकारमा स्थान दिनुपर्ने बताएका छन् ।
उपराष्ट्रपति निर्वाचनमा खसालेपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै उनले सरकारमा जानेहरुमा नयाँ जोश र उत्साह बोकेका मानिसले अवसर पाउनु पर्ने बताए ।
अब सरकारमा जानेले राष्ट्रहितका लागि आवश्यक आँट प्रर्दशन गर्न सक्नुपर्ने उनले बताए ।
थापाले भने, ‘यो पटक मन्त्री भएर जाने प्रत्येकलाई डर हुनुपर्छ, मैले परिणाम दिन सकेन भने मलाई ठूलो राजनीतिक क्षति हुन्छ । प्रधानमन्त्रीलाई पनि हुनुपर्छ । सबैलाई डर भयो भने मन्त्री परिषद्लाई पनि एउटा डर हुन्छ । डर परिणामसँग हुन्छ र त्यसले एउटा ठूलो राजनीतिक जवाफदेहिताको काम गर्छ ।’
उनले सकेसम्म सबै दलहरुलाई समेटेर सरकार निमार्ण गर्ने विषयमा नेपाली काङ्ग्रेस सकारात्मक रहेको बताए ।
उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका ठूला चार दलले जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादवलाई समर्थन गरेका छन् भने अरु ५ दलले जनमत पार्टीकी ममता झालाई समर्थन गरेका छन् ।