ओलीका नजरमा गगन कस्ता कांग्रेसी?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उखान टुक्काका कारण बेला बेलामा चर्चामा आइरहन्छन् । साथै उनको ‘वाक्चातुर्य’ कला नै हो । विपक्षीमाथि खरोरुपमा प्रहार गर्न माहिर केपी ओलीले आज नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कडा शब्दवाण प्रहार गरेका छन् ।
फागुन २५ गते संसद भवन नयाँ वानेश्वरमा राष्ट्रपति पदको चुनाव भइरहेका बेला मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेससँग सहकार्य नगर्ने भनेर कसम नखाएको बताएका थिए । उनले आफै पनि सहकार्य हुन सक्ने आशय व्यक्त गरेका थिए ।
पुस १० गते नयाँ गठबन्धन बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री आफैले बनाएको जस लिएका ओली पुस २६ सम्म आइपुग्दा नेपाली कांग्रेसले पनि प्रचण्डलाई सदनमा विश्वासको मत दिएपछि झस्किएका थिए ।
संसदमा २ तिहाई बढीको विश्वासको मत हासिल गरेपछि प्रचण्डले पहिलो बोली नै अब राष्ट्रिय सहमतिको सरकार बन्ने र नेपाली कांग्रेसलाई पनि संवैधानिक निकायमा स्थान दिने उद्घोष नै गरे ।
त्यसपछि एमाले प्रचण्डसँग चिढिँदै गयो भने फागुन १० मा एमाले माओवादी गठबन्धन नै भंग भयो । फलस्वरुप माओवादीसहितको समर्थनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल अन्ततः राष्ट्रपति पदमा निर्वाचित भए ।
पछिल्लो समय एमाले जसरी हुन्छ नेपाली कांग्रेस र माओवादीसहितको नयाँ गठबन्धन भत्काउने दाउँमा लागेको छ भने नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको ललीपप फालिरहेको छ ।
यस्तै ललिपपको रुपमा ओलीले प्रयोग गरेको सहकार्य नगर्ने कसम खाएको शव्दको तत्काल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले जवाफ दिएका थिए । उनले त्यतिबेला भनेका थिए ‘एमालेसँग २०८४ सालको चुनावमा सहकार्य हुनसक्छ, अहिले सम्भव छैन ।’
हो, यही कुराबाट विच्किएका ओलीले शुक्रबार उपराष्ट्रपतिको चुनावमा मतदान गरेपछि सञ्चारकर्मीमार्फत गगनलाई कडा जवाफ दिएका छन् ।
आफ्नो कांग्रेससँग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति कांग्रेसकै केही नेताहरु त्रसित भएको टिप्पणी गर्दै ओलीले कांग्रेस महामन्त्री थापालाई ‘चर्का कांग्रेसी’को संज्ञा दिए ।